‘माइतीघर’ र ‘परालको आगो’मा पुरानै गीत दर्शकले रुचाउलान् त !

काठमाडौं : परालको आगो फिल्मको गीत ‘उडिजाऊँ भने म पन्छी हैन,बस्न ए लै मन छैन’बोलको गीत निकै चर्चितमध्येमै पर्छ। ४५ वर्षअघि रेकर्ड भएको यो गीत गीतको संगीतकार शान्ति ठटाल, मनबहादुर मुखियाको शब्द र स्व अरुणा लामाको स्वर रहेको छ।
यो गीत पुन नयाँ फिल्म ‘परालको आगो’मा प्रयोग हुने भएको छ। निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत फिल्ममा राख्नका लागि हालै अनुमति लिएको जानकारी दिएको छ।
फिल्मका निर्माता सुशील पोखरेलले संगीतकार शान्ति ठटालको भारत सिलगुडीमा रहेको घर पुगेर सम्झौता गरेको निर्माण पक्षले जानकारी दिएको छ।
कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित फिल्म ‘परालको आगो’मा अभिनेताद्वय जितु नेपाल, प्रकाश सपुत, अभिनेत्री सुहाना थापा अनुबन्धित भइसकेका छन्।
यता ५९ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘माइतीघर’ को नाममा पुन निर्माण भएको छ। यसमा पनि पुरानै माइतीघरमा समावेश गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’को रि–क्रिएसन गरिएको छ।
पुरानो ‘माइतीघर’ फिल्म नेपालमा बनेको तेस्रो फिल्म थियो। विक्रम संवत् २०२३ सालमा बनेको यो फिल्म निजी क्षेत्रबाट लगानीमा बनेको पहिलो नेपाली फिल्म हो। यसमा भारतीय अभिनेत्री माला सिन्हाले अभिनय गरेकी छिन्। अभिनेता सिपी लोहनी लगायत कलाकार थिए।
५९ वर्षपछि रोहित अधिकारीको लगानीमा निर्माण भइरहेको नयाँ माइतीघरमा केदार घिमिरे (माग्नेबुढा), धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायत कलाकारको अभिनय रहेको छ। फिल्मलाई मिलन तामाङको निर्देशन गरेका छन्।
जेठ २१, २०८२ बुधबार १९:३३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।