पहिलो पटक दृष्टिहीनहरूको सहायक प्रविधि प्रदर्शनी

पहिलो पटक दृष्टिहीनहरूको सहायक प्रविधि प्रदर्शनी

काठमाडौं : नेपाल नेत्रहीन संघ (एनएबी) ले दृष्टिहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूका लागि सहायक प्रविधि प्रदर्शनी आयोजना गरेको छ।  पहिलो पटक भएको प्रदर्शनीमा मोबाइल एप्स, स्क्रिन रिडर, ब्रेल उपकरण, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि लगायतका सहायक प्रविधिहरूको डेमो र प्रयोगसमेत राखिएको छ।

प्रदर्शनी विश्वव्यापी 'अनलक द एभरिड़े' अभियानको हिस्सा रहेको र विश्वभर करिब एक अर्ब मानिसहरूका लागि यो आवश्यक रहेको आयोजकले जानकारी दिए।

ग्लोबल डिसएबिलिटी इनोभेसन हबको पहलमा सुरु गरिएको यो दिवस २०२४ देखि मनाउन थालिएको हो। प्रदर्शनीमा 'सहायक प्रविधिमा पहुँच' विषयमा सरोकारवालाको भूमिका के कस्तो रहन आवश्यक छ भन्ने समूहगत छलफल समेत भएको थियो।

बुधवारै 'समावेशीकरणका लागि प्रविधि नेपाल' अभियानको औपचारिक उद्घाटन समेत भयो। यसको उद्देश्य नीति निर्माण, बजेट विनियोजन, र प्रविधिमा पहुँचको प्रवर्द्धन गर्नु रहेको नेपाल नेत्रहीन संघले जनाएको छ।

'सहायक प्रविधिमा पहुँच अधिकार हो, विलासिता होइन,' नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनालले भने, 'यो प्रदर्शनी नीति निर्माता, निजी क्षेत्र, सञ्चारमाध्यम, शिक्षक तथा नागरिक समाज सबैलाई सहकार्यको लागि प्रेरित गर्ने अभियान हो।

संघले यसलाई प्रविधिको प्रदर्शनी मात्र नभई दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूको अधिकार र सम्भावना उजागर गर्ने अभियान भएको जनाएको छ।

कार्यक्रममा सरकारी निकाय, अपाङ्गता तथा शिक्षा क्षेत्रमा कार्यरत संस्था, विद्यालय, कलेज, अपाङ्गता भएका व्यक्तिहरूका संस्था, प्रविधि विकासकर्ता, सञ्चारकर्मी तथा दृष्टिविहीन र न्यून दृष्टियुक्तहरू सहभागी थिए।

जेठ २१, २०८२ बुधबार १९:१७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।