अर्जुन लामा हत्या अनुसन्धानको बाटो खुल्यो, पूर्व सभामुख सापकोटासहित ६ जनामाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश

अर्जुन लामा हत्या अनुसन्धानको बाटो खुल्यो, पूर्व सभामुख सापकोटासहित ६ जनामाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश

काठमाडौं : पूर्व सभामुख अग्नि सापकोटा विरुद्ध ज्यान मुद्दा उजुरीमा अनुसन्धान हुने भएको छ। बुधवार सर्वोच्च अदालतले  सापकोटा विरुद्धको जाहेरी अनुसार अनुसन्धान अगाडि बढाउन  उत्प्रेषणको आदेश जारी गरेको हो।

काभ्रेकी पूर्णमाया लामाले आफ्ना पति अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लगाउँदै सापकोटा विरुद्ध किटानी जाहेरी दिएकोमा प्रहरीले अनुसन्धान अगाडि नबढाइ तामेलीमा राखेको थियो। प्रहरीको निर्णय विरुद्ध पूर्णमाया सर्वोच्चमा गएकी थिइन्।

त्यही रिटमा बुधवार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णय खारेज गरेर अनुसन्धान अगाडि बढाउन आदेश दियो। 

के हो घटना ?

माओवादीको सशस्त्र द्धन्द्धकालमा काभ्रेका अर्जुन लामालाई माओवादीले मारेको थियो। २०६२ वैशाख १७ देखि बेपत्ता भए। अर्जुन काभ्रे छत्रेबाँझको श्रीकृष्ण माविको व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित भएकै दिन विद्यालयबाटै अपहरणमा परेका थिए। माओवादी अपहरणमा परेका उनी फर्किएनन्।  राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धानमा लामाको अपहरणपछि माओवादी कार्यकर्ताले यातना दिएर हत्या गरेको खुलेको थियो।

उनको श्रीमती पूर्णमायाले २०६४ सालमा जिल्ला प्रहरी कार्यालयमा तत्कालीन माओवादी नेता अग्नि सापकोटा, सूर्यमान दोङसहित ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गर्ने प्रयास गरे पनि प्रहरीले जाहेरी लिएन। 

अनि लामाले सर्वोच्चमा रिट दर्ता गरेपछि २०६४ फागुन २७ मा सर्वोच्च अदालतबाट जाहेरी दर्ता गर्न आदेश भयो। आदेश अनुसार जाहेरी दर्ता भए पनि प्रहरीले २०६९ सालमा जाहेरी तामेलीमा राखेको थियो। ‘तामेली’को निर्णयविरुद्ध उनले पुन सर्वोच्चमा २०६९ मंसिर ७ मा रिट निवेदन दर्ता गराएकी थिइन्।

माओवादीले भने यो घटनालाई द्वन्द्वकालीन घटना भन्दै सत्य निरुपण आयोगबाट समाधान हुनुपर्ने तर्क गर्दै आएको थियो। तर अदालतको आदेशपछि अब प्रहरीले तामेलीमा राखेको जाहेरी ब्यूँताएर हत्यामा अनुसन्धान गर्नुपर्ने छ।

सञ्चारमन्त्री समेत भइसकेका सापकोटा अहिले माओवादी केन्द्रको प्रवक्ता छ। उनी सिन्धुपाल्चोकबाट पटक-पटक सांसद निर्वाचित भए पनि २०६९ को निर्वाचनमा भने उम्मेदवार बनेनन्।

जेठ २१, २०८२ बुधबार १८:३८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।