यातायात क्षेत्रमा हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले सार्वजनिक यातायात क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार दायर भएको रिटमा सुनुवाइ गर्दै बुधवार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो।
अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात क्षेत्रमा हड्ताल गरेर व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन गरेको भन्दै अदालतमा रिट दर्ता गरेका थिए। बुधवार अल्पकालीन आदेशसँगै इजलासले त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई इजलासमा समेत बोलाएको छ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धी नियमावलीको विरोधमा पोखरामा सुरु भएको हड्ताल काठमाडौँ आइपुगेको थियो। सरकारले तत्काल छलफल गर्न समिति गठन गरेर व्यवसायीसँग तत्काल नियमावली कार्यान्वयन नगर्न प्रदेश सरकारलाई निर्देशन दिने सहमति गरेको थियो। संघीय सरकारको सहमतिपछि यातायातमा जारी सिन्डिकेटलाई प्रशय दिएको र प्रदेशको संवैधानिक अधिकारमाथि केन्द्रबाट हस्तक्षेप भएको भन्दै आलोचना भएको थियो। सहमति अनुसार गण्डकी सरकारले तत्काल नियमावलीको कार्यान्वयन रोकेपछि बुधवारबाट यातायात सुरु भएको छ।
जेठ २१, २०८२ बुधबार १८:०३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।