भिजिट भिसा विवादले संसद् गतिरोध कायमै, बुधवार पनि बैठक नबसी स्थगित भयो

भिजिट भिसा विवादले संसद् गतिरोध कायमै, बुधवार पनि बैठक नबसी स्थगित भयो

काठमाडौं : भिजिट भिसाको आवरणमा भएको ठगी र मानव तस्करीको अनुसन्धानमा सघाउन गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रतिपक्षी दलका नेताहरू कायमै रहेपछि बुधवार पनि संसद्को बैठक बस्न सकेन।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थ भट्टराईकै संलग्नतामा भिजिट भिसाको आवरणमा रकम असुल्ने र मानव तस्करी भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अनुसन्धानमा छ।

गृह मातहतको कार्यालयको प्रमुखै अनुसन्धानमा तानिएको, गृहमन्त्रीको सचिवालयका कर्मचारी नै संलग्न देखिएको भन्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलले गृहमन्त्री लेखकको राजीनामा माग्दै आएका छन्। मंगलबार पटक पटक भएको छलफलमा सहमति हुन नसकेपछि संसद् बैठक नबसी बुधवारलाई सरेको थियो।

मंगलबार भएको छलफलमा सत्तापक्ष नेपाली कांग्रेस र एमालेका नेताहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकले संसद्मा जानकारी दिन पाउनुपर्ने सर्त राखेका थिए। गृहमन्त्रीको जवाफबाट चित्त नबुझे पुन छलफलमा बस्ने सत्तापक्षको सर्तमा प्रतिपक्षी दल सहमत नहुँदा मंगलबार बैठक बस्न सकेन।

बुधवार १ बजेका लागि बैठक बोलाइए पनि प्रतिपक्षी दलका नेताहरू गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हटेनन्। उनीहरू गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक अगाडि बढ्न नसक्ने अडानमा कायमै रहेपछि बुधवार पनि बैठक बस्न सकेन। बुधवार बैठक नबसी सूचना टाँसेर बिहीबार दिउसो १ बजेलाई बैठक डाकिएको छ।

प्रतिपक्षी दलको निरन्तर अवरोधले सरकारले ल्याएको बजेटमाथिको छलफल नै अलपत्र परेको छ। जेठ १५ मा बजेट ल्याउन प्रतिपक्षी दलहरुले अवरोध गरेका थिएनन्। त्यसपछि भने निरन्तर अवरोध जारी छ।

 

जेठ २१, २०८२ बुधबार १६:३९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।