क्यानलाई एनपिएल अनियमितताबारे राखेपको १० प्रश्न : विदेशी मुद्रा दुरुपयोगदेखि टेन्डरसम्म छानबिनमा

काठमाडौं : नेपाल प्रिमियर लिगमा भएको अनियमितताबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई विदेशी मुद्दा अपचलनसहित १० प्रश्न सोधेको छ।
प्रत्यक्ष प्रसारणको अधिकार,विदेशी विज्ञापन, लिग व्यवस्थापनको जिम्मा पाएको कम्पनीलाई गरिएको भुक्तानी, अनलाइन जुवाको प्रवर्धन लगायतका बदमासीले एनपिएलको पहिलो सिजनै विवादमा तानिएपछि छानबिन सुरु भएको हो।
एनपिएलमा भएको बदमासीबारे उकेराले लिगको प्रारम्भिक चरणदेखि नै प्रमाणसहित समाचार प्रकाशित गर्दै आएको छ।
एनपिएलमा भएको बदमासीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी खेलकुद मन्त्रालय हुँदै राष्ट्रिय खेलकुद परिषद्मा आएपछि परिषद् छानबिन गर्न कार्यदल गठन गरेको थियो।
सोही कार्यदलले क्यानसँग एनपिएल आयोजनासँग सम्बन्धित सबै निर्णयको सक्कल कागजपत्र, एनपिएलको प्रसारण अधिकार लगायतका विषयमा भएको टेन्डरको सबै कागजपत्र, स्टार स्पोर्टसलाई प्रत्यक्ष प्रसारणको अधिकार दिँदा अपनाएको कानुनी आधार समेत सोधेको छ।
टिसीएम स्पोर्टस् म्यानेजमेन्ट नेपालमै दर्ता भएको अवस्थामा विदेशमा रहेको कम्पनीसँग सम्झौता गर्नुको कारण, टिसीएम दुबईलाई भुक्तानी गरेको विदेशी रकममा कर छली र दुरुपयोगबारे प्रश्न उठाइएको छ।
एनपिएल प्रतियोगिता छानबिन कार्यदल संयोजक रञ्जना प्रधानले पठाएको पत्रमा नेपालमा दर्ता रहेको संस्थाले सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली र खेलकुद विकास ऐन विपरीत काम गर्न मिल्छ भन्दै टिसीएमलाई एकलौटी प्रसारणको अधिकार दिँदा कति रकममा सम्झौता गरेको हो भन्ने पक्षसमेत खुलाउन भनेको छ।
अपारदर्शी र शङ्कास्पद कारोबार
क्यानले नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानका सचिव पारस खड्काको संयोजकत्वमा एनपिएल परिचालन परिषद् गठन गरेको थियो। क्यानका कोषाध्यक्ष र एक सदस्य रहेको सो परिषद्ले अहिलेसम्म पनि एनपिएल आयोजनाको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको छैन।
लिगको व्यापारिक प्रवर्धन गर्न टेन्डरबाट निजी कम्पनी छाने पनि अधिकांश आर्थिक गतिविधिमा पारस आफैँ सक्रिय देखिएका थिए।
विना प्रतिस्पर्धा लिगको प्रसारण अधिकार दिने, प्रतिस्पर्धा नै नगराई इभेन्ट रणनीति र मार्केटिङ कन्सल्ट्यान्टको रूपमा विदेशी कम्पनी टिसीएम स्पोर्टस म्यानेजमेन्टसँग सम्झौता गर्ने र रकम विदेश पठाउने, लिगका स्पोन्सरहरुसँग के-कतिमा सम्झौता भएको सो सार्वजनिक नगर्ने जस्ता गतिविधिले लिग आयोजनामा संलग्नहरू शंकाको घेरामा तानिएका थिए।
लिगमा आयोजकले अनलाइन जुवा खेलाउने कम्पनीको छद्म ब्रान्डको प्रचार गराएर जुवा प्रवर्धन समेत गरेको थियो।
लिग आयोजक र टिसिएमको सम्बन्ध सबैभन्दा शङ्कास्पद देखिएको थियो। उकेराको खोजमा क्यानको लिग आयोजनाका लागि बनाएको परिषद् र टिसिएमबीचको सम्झौता र आर्थिक कारोबार निकै शङ्कास्पद देखिएको थियो।
टिसिएम भारतीय कम्पनी भए पनि उसले दुबई र नेपालमा समेत कम्पनी दर्ता गरेको छ। एनपिएल आयोजक परिषद्ले टिसिएमको भारत वा नेपालमा रहेको कम्पनीसँग नभई सिधै दुबईमा रहेको कार्यालयसँग सहकार्य गरेको उकेराको खोजमा खुलेको थियो।
क्यानका कोषाध्यक्ष पदम खड्काले उकेरासँग टिसिएमसँग क्यानको कुनै आर्थिक सम्बन्ध नै नरहेको दाबी गरेका थिए। तर उकेराले टिसिएमले क्यानको नाममा एनपिएलबारे पठाएको ९२ हजार ५ सय अमेरिकी डलर ( करिब एक करोड २७ लाख रुपैयाँ) को बिल फेला पारेको थियो।
यसले समेत टिसिएम र एनपिएल आयोजक परिषद्का अधिकारीहरूको सम्बन्ध थप शङ्कास्पद बनाएको थियो।
त्यसमा पनि क्यानले कर्मसियल एजेन्सीको रूपमा ब्रान्ड डिजिटल लजिकलाई टेन्डर प्रक्रियाबाट छानेको थियो। ब्रान्ड लजिकले ५ करोड ९२ लाख तिर्ने गरी कमर्सियल एजेन्सीको जिम्मा पाए पनि ब्रान्ड लजिकले गर्ने काममा पनि पारसै सक्रिय देखिएका थिए।
एनपिएल सकिएको पाँच महिना कटिसक्यो तर क्यानले आम्दानी र खर्च विवरण अझैँ सार्वजनिक गरेको छैन। प्रायोजन र टिकट विक्रीबाट कति रकम सङ्कलन भयो सार्वजनिक भएको छैन। सिद्धार्थ बैंक मुख्य प्रायोजक रहे पनि कतिमा सम्झौता भएको हो क्यानले गोप्य राखेको छ। यो बिचमा एनपिएलमा सहभागी आठ टिमका प्रतिनिधीहरुसँगको छलफलमा सचिव पारस खड्काले प्रति क्लब एक करोडसम्म आउने दाबी गरेका थिए। तर पछिल्लो बैठकमा सो रकम घटेर ६० लाखमा आए पनि क्लबहरूलाई रकम भने नदिएको स्रोतले उकेरालाई जानकारी दियो। विजेता टिमहरूले समेत पुरस्कार बापतको रकम पाएका छैनन्।
जेठ २१, २०८२ बुधबार १६:०२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।