छोराको तस्बिर सञ्जालमा भाइरल हुँदा मंगोलियाका प्रधानमन्त्रीले दिनुपर्यो राजीनामा

एजेन्सी : छोराले विलासी जीवनशैली बिताएको तस्बिर सामाजिक सञ्जालमा आएपछि मंगोलियाका प्रधानमन्त्री एल ओयुन एर्डेनले राजीनामा दिएका छन्।
भ्रष्टाचार विरोधी अनुसन्धान र हप्तौंसम्म चलेको विशाल विरोध प्रदर्शनपछि एर्डिनले राजीनामा दिएका हुन्।
मंगलबार संसदमा एल ओयुन एर्डिनले विश्वासको मत गुमाए। संसदका १२६ सदस्यमध्ये कम्तिमा ६४ जनाको समर्थन आवश्यक भएकोमा उनले ४४ मत मात्र पाए।
भाइरल तस्बिरहरूमा, ओयुन एर्डिनका छोरा र उनकी प्रेमिकालाई उनीहरूको इन्गेजमेन्ट बिदाको समयमा ब्ल्याक डायर ह्यान्डब्याग र धेरै किनमेल झोलाहरू बोकेको देखिएको थियो।
प्रदर्शनकारीहरूले ओयुन एर्डिनको परिवारले कसरी यति विलासी जीवन बिताउन सक्छ भनेर प्रश्न गरेका छन्। स्थानीय सञ्चारमाध्यमले देशको भ्रष्टाचार विरोधी निकायले उनको आर्थिक मामिलाको अनुसन्धान गरिरहेको रिपोर्ट गरेको छ।
ओयुन एर्डिनले भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन् र आफ्ना आलोचकहरूलाई आफूविरुद्ध बदनाम अभियान चलाएको आरोप लगाएका छन्।
जेठ २१, २०८२ बुधबार १४:०७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।