जगदीशपुर तालमा चरा संरक्षणका लागि मोटरबोट बन्द, अवसर र रोजगारी खोसिएको भन्दै स्थानीय आक्रोशित

जगदीशपुर तालमा चरा संरक्षणका लागि मोटरबोट बन्द, अवसर र रोजगारी खोसिएको भन्दै स्थानीय आक्रोशित

बुटवल : कपिलवस्तुको विश्व सिमसार क्षेत्र तथा प्रदेश सरकारद्वारा घोषित पन्छी संरक्षण क्षेत्र जगदीशपुर तालमा मोटरबोट सञ्चालनलाई लिएर विवाद उत्पन्न भएको छ। मोटरबोटले चराहरूको वासस्थानमा असर पुर्याउने भन्दै संरक्षणकर्मी र वन कार्यालयले रोक लगाएका छन् भने स्थानीय बासिन्दा ताललाई आर्थिक उपार्जन र रोजगारीको अवसरसँग जोड्न चाहन्छन्। यस विवादले स्थानीयमा तालमाथि आफ्नो अपनत्व गुम्ने डर बढेको छ।

तालको व्यवस्थापन हेर्दै आएको जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च नामक संस्थाले विगतमा दुई पटक मोटरबोट चलाउन ठेक्का दिएको थियो। पहिलो पटक २०८० कार्तिक २८ गते एक जना स्थानीयलाई १० लाख रुपैयाँमा १ वटा मोटरबोट र ५ वटा म्यानुअल बोट सञ्चालन गर्न दिइएको ठेक्का डिभिजन वन कार्यालय कपिलवस्तुले १० दिनपछि मोटरबोटमा रोक लगाएपछि म्यानुअल बोट मात्र चले।

यस वर्ष पनि मञ्चले यही बैशाख ५ गते मायादेवी गाउँपालिकाका विनोद पाललाई बैशाखदेखि चैतसम्मका लागि ८ लाख ५५ हजार रुपैयाँमा मोटरबोट सञ्चालन गर्न ठेक्का लगाएको थियो।

तर, सिमसार क्षेत्रमा मोटरबोट चलाएको भन्दै चौतर्फी विरोध भएपछि डिभिजन वन कार्यालय कपिलवस्तुकै पत्रअनुसार अहिले तालमा मोटरबोट सञ्चालनमा पुनः रोक लगाइएको छ। डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ठ वन अधिकृत शिवनन्दन शाहले मञ्चलाई पत्राचार गरेर मोटरबोट सञ्चालन रोकिएको पुष्टि गरे।

जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङ स्थानीयले तालबाट अवसर लिन खोज्दा हचुवाको भरमा तालमाथि हस्तक्षेप बढेको बताउँछन्।

‘ताल सन् २००३ मा सिमसारमा सूचीकृत भयो, तर १६ वर्षदेखि यसको संरक्षण स्थानीयले गरेका छन्,’ उनले भने, ‘स्थानीयलाई नै अपनत्व हुन नदिने गरी यहाँ गतिविधि भइरहेका छन्।’

तालमा मोटरबोट सञ्चालन हुँदा चराहरूको वासस्थान बिथोलिएको भन्दै चौतर्फी विरोध बढेपछि वन कार्यालयले ५ दिनअघि मञ्चलाई पत्र लेख्दै तत्काल सञ्चालन नगर्न भनेको र सो पत्र प्राप्त भएदेखि नै मोटरबोट सञ्चालन बन्द गरिएको अध्यक्ष गुरुङले बताए।

अध्यक्ष गुरुङले तालमा अवसर देखेका स्थानीयले संरक्षणमा समेत अपनत्व लिएको भन्दै चराहरूलाई प्रभावित नपार्ने गरी मोटरबोट सञ्चालन गर्न खोज्दा पनि एनजीओ र आईएनजीओको पछि लागेर सरोकारवालाले रोक लगाएको आरोप लगाए।

‘संसारका ठूला सिमसारमा मोटरबोट चलेका प्रशस्त उदाहरणहरू छन्। नेपालमै पनि पोखरा, बिसहजारी तालमा मोटरबोट चलेका छन्,’ उनले भने, ‘त्यहाँ केही नहुने तर हाम्रोमा मोटरबोट चलाउँदैमा चरा नै हराउने जस्तो प्रचारबाजी गरियो।’

उनले जाडो याममा आउने पाहुना चराहरू मंसिरदेखि फागुनमा आउने र स्थानीय चराहरूका लागि तालमा पर्याप्त ठाउँ रहेकाले असर नपर्ने गरी ठेक्का दिँदा रोक्नु राम्रो नभएको तर्क गरे।

यता, चराविद् कृष्ण भुसाल भने मोटरबोट सञ्चालन गर्दा जलचर, स्तनधारी र सरिसृप प्राणीलाई समस्या हुने बताउँछन्। जगदीशपुर ताल नागुन हाँस र हरिहाँस जस्ता पानी हाँसको प्रजनन स्थल हो। त्यस्तै, मिसकुखुरा, बगाले मिस कुखुरा, कुर्मा, जलअप्सरा, लामाऔँले र ठिमाहा फ्याल-फ्यालेको पनि यो प्रजनन स्थल हो।

ती चराहरूले तालभित्रका वनस्पति र तैरिएका पातहरूमा गुँड बनाउँछन्। जगदीशपुर ताल ठिमाहा फ्याल-फ्याले प्रजनन गर्ने नेपालको एक मात्र स्थान भएको र यतिबेला सबै चराहरूको प्रजननमा मोटरबोटका कारण बाधा पुग्नेमा भुसालले चिन्ता व्यक्त गरे।

‘बैशाख जेठमा ती चराहरूले प्रजनन गर्छन्। झन् संवेदनशील समयमा मोटरबोटको छाल र मानिसको होहल्लाले उनीहरूको प्रजनन प्रक्रिया बिथोलिने हुन्छ’, उनले भने।

‘एनजीओ/आईएनजीओले जे भन्छन्, सरोकारवालाले त्यही गर्छन्’
लुम्बिनी प्रदेश सरकारले २०७९ साउन १ गते कपिलवस्तुको जगदीशपुर जलाशयलाई पन्छी संरक्षण क्षेत्र घोषणा गरेको छ। घोषणा हुनुअघि असार ३१ गते प्रदेश मन्त्रिपरिषद् बैठकले जगदीशपुर पन्छी संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत गरेको थियो।

पन्छी आरक्ष घोषणा गरिएको यो तालको संरक्षणको जिम्मेवारी पछिल्ला पाँच-छ वर्षयता कपिलवस्तु नगरपालिकाले जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्चलाई दिएको छ। जगदीशपुर बर्ड सेन्चुरी घोषणा गर्दा पञ्चवर्षीय कार्ययोजना बनाइएकोले पनि स्थानीयहरू चिढिएका छन्।

‘बर्ड सेन्चुरी घोषणा भएपछि पनि संरक्षणको काम भएन। यहाँ पाहुना चराको शिकार हुँदा यहाँका स्थानीयले जोगाउनु परेको छ’,  मञ्चका अध्यक्ष गुरुङले भने, ‘एनजीओ, आईएनजीओले जे भन्छन्, सरोकारवालाले त्यही गर्छन्। अहिले तालमा ३० देखि ४० किलोसम्मका माछा छन्, उनीहरूलाई निकाल्न पाइँदैन। माछा निकालेर त्यसको आम्दानीलाई ताल संरक्षणमै लगाउन सकिन्छ।’

मञ्च गठनअघिसम्म समिति बनाएर तालका माछा, चरा, कछुवाका साथै अन्य जलपंक्षी संरक्षण गरे पनि अहिले आफूहरू आरोपित मात्र हुने गरेको अध्यक्ष गुरुङको भनाइ छ।

‘जिल्लाको अस्तित्वसँग जोडिएकाले हामीले यसको संरक्षण, प्रबर्द्धन गर्नेतर्फ लाग्यौँ, तर सरकारले हामीलाई तालको अस्तित्व प्राप्तिबाट टाढा राख्न खोज्दैछ,’ उनले थपे, ‘मोटरबोट सञ्चालनपछि धेरै रोजगारी सिर्जना र स्थानीयहरू स्वरोजगार भएका थिए। धेरै स्थानीय यही तालमा निर्भर छन्। तर मोटरबोट बन्द भएपछि धेरैको रोजगारी समेत खोसिएको छ।’

अध्यक्ष गुरुङले भनेजस्तै तालमा समुदायको निर्भरता रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाउँछ। सन् २०१६ मा सोनी बराल लगायतले गरेको अध्ययनले जगदीशपुर सिमसार क्षेत्रबाट वार्षिक ९ करोड ४५ लाख रुपैयाँ बराबर आम्दानी हुने देखाएको थियो। लुम्बिनी प्रदेश सरकारबाट स्वीकृत कार्ययोजनाले भने सिमसार क्षेत्रबाट समुदायले झन्डै वार्षिक १ करोड ७० लाख रुपैयाँ बराबरको लाभ लिइरहेको उल्लेख छ।

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल स्थानीयहरूले संरक्षण र जोगाएको तालमा उनीहरूले अपनत्व खोज्नु जायज भएको बताए। उनका अनुसार नगरपालिकाले मञ्चलाई डुंगा मर्मत तथा नयाँ खरिदका लागि ५ लाख रुपैयाँ र जलाशय सरसफाइका लागि २ लाख रुपैयाँ सहयोग गरेको थियो।

तालमा १६७ प्रजातिका चरा
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट १२ किलोमिटर उत्तर, कपिलवस्तु नगरपालिका वडा नं ९ र १० मा रहेको जगदीशपुर तालमा १६७ प्रजातिका चरा पाइन्छन्। त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका जाडो याममा आउने र ३ प्रजातिका आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ।

यस्तै, ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर प्राणी, ४२ प्रजातिका सरीसृप प्राणी र ३२ प्रजातिका स्तनधारी प्राणी पाइने उल्लेख छ। विश्वमै दुर्लभ जनावर पानी बिरालो र ८ प्रजातिका दुर्लभ चरा पनि तालमा पाइन्छन्।

करिब २१५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालको १५७ हेक्टर भाग पानीले ढाकेको छ। यो ताल नेपालकै मानव निर्मित जैविक विविधतायुक्त तालहरूमध्ये सबैभन्दा ठूलो ताल हो। ४७ लाख ५० हजार घनमिटर क्षमता रहेको यो तालको गहिराइ ३ मिटर रहेको छ। सन् २००३ मा रामसार सूचीमा सूचीकृत भएको यो ताल कपिलवस्तु जिल्लाको महत्वपूर्ण धरोहर हो।

यो ताल मरूल, सुनजुरे, सिलसिले, कालीजुरे, मालक, सुइरोपुछ्रे, बेल्चाठुंडे, सिन्दुरे, निलटाउके, कैलो टाउके, जुलागैरी, चखेवा, पेकिङ डग, माल्टाज, फिस्टा, खट्खटे, सारस, भुँडीफोर, ध्यानी, बकुल्ला, सेतो गरूड लगायतका चराहरूको लागि राम्रो बासस्थान मानिन्छ।

विश्वकै सबैभन्दा सानो मानिने हरि हाँस, सिलसिले र नागुन हाँस यहीँ बासस्थान रहेका रैथाने हाँस हुन्। ती हाँसले जगदीशपुरमै बच्चा कोरल्छन्। धेरै प्रजाति र संख्यामा चराहरू आउने भएकोले जगदीशपुर ताल पंक्षीविद्हरूको लागि अध्ययन गर्ने थलो समेत मानिन्छ। पाहुना चराहरूको बारेमा जानकारी लिने, उनीहरूको जलक्रिडा र रोमाञ्चक गतिविधिको अवलोकनका लागि कात्तिकदेखि माघ फागुनसम्म आन्तरिक तथा बाह्य गरी बढी पर्यटक तालमा पुग्ने गर्दछन्।

कपिलवस्तुका दक्षिणका साविकका १३ गाविस र एउटा नगरपालिकासँगै भारतको समेत गरी ६ हजार ३५० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्यले वाणगंगा डिभिजनल सिँचाइ कार्यालयले वाणगंगा नदीबाट आएको पानीलाई लक्ष्मणघाटमा बाँध बाँधेर जगदीशपुरमा जलाशय निर्माण गरेको थियो। ४७ लाख घनमिटर पानी भण्डारण गर्न सक्ने गरी २०२८ सालमा निर्माण सुरु गरी २०३५ सालमा निर्माण सम्पन्न भएपछि जलपंक्षीहरूले यसलाई बासस्थान बनाउन थालेका थिए।

जेठ २१, २०८२ बुधबार ११:२१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।