एभरेष्ट बैंकद्वारा ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरू

काठमाडौं : एभरेष्ट बैंकले आफ्नो विद्युतीय सेवा विस्तार गर्ने क्रममा ग्राहकहरूका लागि ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’ सेवाको सुरूवात गरेको छ।
बैंकले मिति २०८२ साल जेठ २० गतेदेखि यो पूर्ण डिजिटल कार्ड सेवा सञ्चालनमा ल्याएको हो।
एभरेष्ट बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एप्लिकेसनमार्फत सिधै उपभोग गर्न सकिने यो भर्चुअल क्रेडिट कार्ड न्यूनतम तोकिएको मापदण्ड प्रयोग गरी प्राप्त गर्न सक्नेछन्।
यो कार्डमार्फत ग्राहकले न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको भर्चुअल क्रेडिट सीमा उपयोग गर्न पाउनेछन्।
यस सेवाको मुख्य विशेषता भनेको यसलाई प्रयोग गरी ग्राहकहरूले फोन पे क्यूआर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी गर्न, अनलाइन ट्रान्जेक्सन गर्न र आफ्नै कार्ड व्यवस्थापनका कार्यहरू सजिलै गर्न सक्नु हो।
बैंकका अनुसार, यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधालाई ४५ दिनसम्म उपभोग गर्न सक्नेछन्।
साथै, भुक्तानीको हकमा ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशतसम्म भुक्तानी गर्न सकिने लचिलो सुविधा प्रदान गरिएको बैंकले जानकारी दिएको छ।
यो सेवाले डिजिटल भुक्तानीलाई थप सहज र सुविधाजनक बनाउने विश्वास बैंकले लिएको छ।
जेठ २१, २०८२ बुधबार १०:२१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।