‘राइड सेयरिङ’ नियमावलीको कार्यान्वयन एक महिनालाई स्थगित भएपछि चल्न थाले सार्वजनिक यातायात

पोखरा : गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सेवा सम्बन्धी नियमावलीको कार्यान्वयन तत्कालका लागि रोकेपछि आजदेखि प्रदेशभर सार्वजनिक यातायातका साधन सञ्चालनमा आएका छन्। सरकारको यो निर्णयसँगै लामो समयदेखि चलेको यातायात बन्द आन्दोलन अन्त्य भएको छ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तथा वार्ता समिति संयोजक कमलकुमार अधिकारीले सरकारले ‘गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’ लाई आगामी एक महिनाका लागि लागू नगर्ने निर्णय गरेको जानकारी दिए। यही निर्णयपछि यातायात व्यवसायीहरूले सेवा सुचारू गरेका हुन्।
अधिकारीका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गण्डकी प्रदेश सरकारलाई सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन र जनजीवन सामान्य बनाउनका लागि पहल गर्न भन्दै अनुरोधसहित पत्र आएको थियो।
सरकार र यातायात व्यवसायीबीच अबको एक महिनाभित्र पुनः वार्ता हुनेछ। यस अवधिमा नियमावलीमा देखिएका विवादित विषयमा छलफल गरी समाधान खोजिने बताइएको छ।
गण्डकी प्रदेश सरकारले गत जेठ १ गते ‘राइड सेयरिङ’ सम्बन्धी नियमावली प्रदेश राजपत्रमा प्रकाशित गरेपछि यातायात व्यवसायीहरू आन्दोलित बनेका थिए। नियमावलीको विरोधमा उनीहरूले जेठ ८ गते ज्ञापनपत्र बुझाएका थिए।
आफ्ना माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा र पछि जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प पारेका थिए।
यसअघि सोमबार राति संघीय सरकार र यातायात व्यवसायीबीच यस विषयमा सहमति जुटेको भए पनि गण्डकी प्रदेश सरकारले औपचारिक निर्णय नगरेसम्म आन्दोलन जारी रहने व्यवसायीले बताएका थिए। प्रदेश सरकारको मंगलबारको निर्णयले सार्वजनिक सवारी खुलेको हो।
जेठ २१, २०८२ बुधबार ०८:५७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।