साउदी अरबमा आजबाट हज यात्रा सुरू, २५ लाख तीर्थयात्री मक्का पुग्दै

एजेन्सी : साउदी अरबमा आजदेखि हज यात्रा सुरू हुँदैछ। आइतबारसम्म १४ लाख दर्ता भएका तीर्थयात्रीहरू मक्का पुगेका छन् भने लाखौं मानिसहरू अझै आउन बाँकी छन्।
यो तीर्थयात्रा इस्लामिक क्यालेन्डरको १२औं महिना जिल-हिज्जाको ८ देखि १२ तारिखको बीचमा हुन्छ।
हज मुस्लिमहरूको आध्यात्मिक र अनिवार्य धार्मिक कर्तव्य हो। शारीरिक, आर्थिक र मानसिक रूपमा सक्षम र स्वस्थ प्रत्येक मुस्लिमले आफ्नो जीवनमा कम्तिमा एक पटक हज गर्नु अनिवार्य छ।
हज इस्लामका पाँच आधारभूत स्तम्भहरू मध्ये एक हो। प्रत्येक वर्ष विश्वभरबाट लगभग २५ लाख मुस्लिमहरू यस पवित्र तीर्थयात्रामा भाग लिन्छन्।
हजको समयमा, मुस्लिमहरू बैतुल्लाहको परिक्रमा गर्छन् र अल्लाहलाई प्रार्थना गर्दै समय बिताउँछन्। हज मुस्लिमहरूका लागि पापबाट मुक्ति, आध्यात्मिक शुद्धीकरण र अल्लाहको नजिक हुने अवसर हो।
हज पैगम्बर इब्राहिमको समयदेखि सुरु भएको मानिन्छ। इब्राहिम र उनका छोरा इस्माइलले अल्लाहको आदेशमा काबा निर्माण गरेको विश्वास गरिन्छ।
६२८ ईस्वीमा पैगम्बर मुहम्मदले पहिलो इस्लामिक तीर्थयात्रा सुरु गरे। ६३२ ईस्वीमा उनले तीर्थयात्राको आधुनिक रूप स्थापना गरे, जुन मुस्लिमहरूले आज पनि पालना गर्छन्।
एक मुस्लिमले आफ्नो जीवनमा जति पटक चाहे पनि हज गर्न सक्छ। तर, भीड नियन्त्रण गर्न साउदी अरबको हज मन्त्रालय र धेरै देशका सरकारले पाँच वर्षमा एक पटक मात्र हज गर्न पाउने नियम बनाएका छन्।
५ वर्षे नियम साउदी अरेबियामा बस्ने मानिसहरूलाई त्यति कडाइका साथ लागू हुँदैन, तर उनीहरूले पनि हज गर्न आधिकारिक अनुमति लिनुपर्छ।
जेठ २१, २०८२ बुधबार ०८:१७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।