संघीय संसदका दुवै सदनको बैठक आज बस्दै : बजेट र निजामती सेवा विधेयकमाथि छलफल हुने

काठमाडौं : संघीय संसदका दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दुवै सदनको बैठकमा आगामी आर्थिक वर्षको बजेट र सङ्घीय निजामती सेवा विधेयकमाथि छलफल हुने मुख्य कार्यसूची रहेको छ।
दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक सुरू हुनेछ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। यस प्रस्तावमाथि सदनमा सामान्य छलफल प्रारम्भ हुनेछ।
यसैगरी, प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्ने पनि कार्यसूचीमा उल्लेख छ।
राष्ट्रिय सभाको बैठक भने दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभामा पनि अर्थमन्त्री पौडेलले ‘राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची तय भएको छ।
संसद बैठकमा बजेटमाथिको सामान्य छलफल प्रारम्भ हुनु र महत्वपूर्ण मानिएको सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन पेश हुनुलाई महत्वका साथ हेरिएको छ।
जेठ २१, २०८२ बुधबार ०७:५१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।