आईसीसी विश्वकप लिग टू : स्कटल्याण्डलाई हराएको नेपालले आज बलियो नेदरल्याण्ड्सको सामना गर्दै

काठमाडौं : आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणीय सिरिजमा नेपालले आज (बुधबार) आफ्नो दोस्रो खेल खेल्दैछ।
सिरिजको आफ्नो पहिलो खेलमा सुखद जित हात पारेको नेपालले आज बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्सको सामना गर्नेछ।
स्कटल्याण्डको डन्डीस्थित फोरफायर क्रिकेट ग्राउन्डमा हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
आईसीसी विश्वकप लिग टू को अंक तालिकामा शीर्ष स्थान नजिक रहेको नेदरल्याण्ड्सका लागि यो सिरिजको पहिलो खेल हो।
यस सिरिजको आफ्नो पहिलो खेलमा भने नेपालले अष्ट्रेलियाली प्रशिक्षक स्टुवार्ट लको प्रशिक्षणमा पहिलो आधिकारिक एकदिवसीय खेल खेल्दै शानदार प्रदर्शन गरेको थियो।
गत सोमबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई उसकै मैदानमा पराजित गरेको थियो। यो जित नेपालका लागि लिग टू मा महत्वपूर्ण थियो।
स्कटल्याण्डमाथि प्राप्त जितपछि नेपाल लिग टू को अंक तालिकामा एक स्थान सुधार गर्दै सातौं स्थानमा उक्लिएको छ। हालसम्म १३ खेल खेलेको नेपालले ३ जितसहित ८ अंक जोडेको छ।
आजको प्रतिद्वन्द्वी नेदरल्याण्ड्स भने २० खेलबाट १२ जितसहित २६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। १७ खेलबाट २० अंकसहित स्कटल्याण्ड चौथो स्थानमा रहँदा अमेरिका भने तालिकाको शीर्ष स्थानमा कायम छ।
जेठ २१, २०८२ बुधबार ०७:३६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।