१८ वर्षमा बेंग्लुरुलाई पहिलो पटक आईपीएलको उपाधि

१८ वर्षमा बेंग्लुरुलाई पहिलो पटक आईपीएलको उपाधि

एजेन्सी : रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ। मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो।

बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो। अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन।

शशांक ३० बलमा ६१ रनमा अविजित रहे। जोश इङ्लिसले ३९ रन बनाए। बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २-२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो। विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए।

पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिए। काइल जेमिसनले ४ ओभरमा ४८ रन दिएर ३ विकेट लिए।​​​​​​​ अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट लिए।

बेंगलुरुले यसअघि तीनपटक आईपीएलको फाइनल खेले पनि उपाधि जित्न सकेको थिएन। सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको बेंगलुरु उपाधिबाट वञ्चित भएको थियो।

जेठ २१, २०८२ बुधबार ०७:२६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।