सन्तराम हरिजन जसले आँटैले तीन सन्तानलाई पढाए, बढाए र अब्बल बनाए

कपिलवस्तु : इँटा भट्टाको तातो धुवा र धुलोबीच पसिना बगाउँदै जातीय अपमान र चरम गरिबीका बाबजुद पनि पढाइलाई सधैँ महत्त्व दिइरहे कपिलवस्तु बहादुरगञ्जका सन्तराम हरिजनले। जीवनको हरेक मोडमा संघर्षसँग लड्दै, आफ्ना सन्तानहरूको उज्ज्वल भविष्यका लागि खटिइरहे उनी। र, निम्न आर्थिक अवस्थाकोो परिवारका लागि असाधारण सफलता पाए।
२०३९ सालमा इँटा भट्टामै काम गर्दैगर्दा उनले प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए। विपन्नता सधैँ उनको यात्राको तगारो भन्दै आयो। समाजले “तिमी त मजदुर जात” भन्दै पटक–पटक अपमान गरिरह्यो। तर सन्तरामले कहिल्यै हार मानेनन्।
शिक्षा उनको लागि सपना मात्र थिएन, लक्ष्य थियो। तर आफ्नो पढाई अगाडि बढेन।आफ्नो पढाई अगाडि बढाउन नसके पनि उनले सन्तानको पढाइका लागि जे-जे गर्न सकिन्छ गरे। गहना बेचे, ऋण लिए, मजदुरी गरे। तर पढाइमा अवरोध हुन दिएनन्।
सन्तरामले संघर्षको दिनमा धेरै गुमाए, तर आशा, संघर्ष र विश्वास गुमाएनन्। त्यसको नतिजा पनि आयो। हिजो सपना समान थियो। आज त्यही यथार्थ बनिदियो। उनका तीन सन्तान, तीनै जना अहिले उच्च शिक्षामा अब्बल भएका छन्।
उनकी कान्छी छोरी स्मृति चमार, डोम, मुसहर, र वादी समुदायबाट पहिलो महिला चिकित्सक बनेर डा स्मृति चमार बनेकी छिन्। नेपाल सरकारको छात्रवृत्तिमा जानकी मेडिकल कलेज, जनकपुरमा एमबिबिएस अध्ययनका लागि भर्ना भएकी उनी चिकित्सक बन्न सफल भइन्।
माइली छोरी सृजना अहिले बेलायतमा एमबिए (फाइनान्स) अध्ययन गरिरहेकी छिन्। गाउँबाट युरोपको प्रतिष्ठित शिक्षण संस्थासम्मको उनको यात्रा आफैँमा असाधारण छ।
छोरा सन्दीप हरिजन भारतको प्रतिष्ठित प्राविधिक संस्थान एनआईटी राउरकेलामा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ अध्ययन गरिरहेका छन्। त्यो पनि भारत सरकार अन्तर्गत भारतीय दूतावासको छात्रवृत्तिमा।
जेठ २०, २०८२ मंगलबार २१:४३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।