मधेस स्वास्थ्य आपूर्ति केन्द्रको ५ करोडको खरिदमा मिलेमतो : फरक प्रकृतिका मेसिनको एकै प्याकेज, मितिमै चलखेल

मधेस स्वास्थ्य आपूर्ति केन्द्रको ५ करोडको खरिदमा मिलेमतो : फरक प्रकृतिका मेसिनको एकै प्याकेज, मितिमै चलखेल

काठमाडौं : मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले फरक-फरक प्रकृतिका मेसिन, औजार तथा उपकरणको एउटै प्याकेज बनाएर बदनियतपूर्ण चार करोड ९८ लाखको खरिद प्रक्रिया अगाडि बढाएको छ। मिलेमतोमा नयाँ शैली अपनाउँदै केन्द्रले असम्बन्धित उपकरणको प्याकेज र सामान ल्याउनुपर्ने समय सीमामा चलखेल गरेको छ।

केन्द्रले करिब चार करोड ९८ लाखमा फरक-फरक प्रकृति र कामै फरक भएका पाँच किसिमका ‘मेडिकल इक्वीप्मेन्ट’लाई एउटै प्याकेज बनाएको छ। सामान ल्याउनु पर्ने समय सीमा खरिद सम्झौता भएको ३० दिन वा असार १५ सम्म तोकेको छ।

अहिले खरिद प्रक्रियाको प्रिबिड सकिएर टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति जेठ २७ मिति तोकेको छ। टेन्डर प्रस्तावपछि प्राविधिक र आर्थिक मूल्याङ्कनपछि मात्र टेन्डर स्वीकृत गरेर मात्र खरिद सम्झौता हुनसक्छ। यस्तो अवस्थामा अति चाँडो प्रक्रिया अगाडि बढाए पनि सम्झौता असार पहिलो साताभित्र हुनसक्छ।

मिति हेर्ने हो भन् खरिद सम्झौता भएको एक हप्ताभित्र सामान दिनुपर्ने हुन्छ। सम्झौताको ३० दिनलाई आधार मान्ने हो भने साउन पहिलो साता पुग्छ। यो आर्थिक वर्ष कटेको अवस्थामा टेन्डर रद्द गर्नुपर्ने हुनसक्छ।

केन्द्रले २०८२ वैशाख २८ (२०२५, मे ११) आह्वान गरेको टेन्डर राष्ट्रियस्तरको भए पनि सामान नेपालमा नबन्ने भएकाले ल्याउने विदेशबाटै हो। खरिद सम्झौतापछि मात्रै सामान आयात गर्ने प्रक्रिया सुरु हुने र अति चाँडो गर्दा पनि कम्तीमा डेढ महिना लाग्छ।

यस्तो अवस्थामा पहिल्यै सामान नेपाल ल्याएर स्टक राखिएको वा खरिद प्रक्रिया सुरु हुनासाथ टेन्डर पर्ने पक्कापक्की भएर सामान ल्याउने प्रक्रिया सुरु गरेको सप्लायर्सलाई टेन्डर पार्न अन्यले प्रतिस्पर्धा नै गर्न नसक्नेगरि खरिदका सर्तहरू राखेको देखिन्छ।

अप्राकृतिक प्याकेज

केन्द्रले गरेको ‘मेडिकल इक्वीप्मेन्ट’को टेन्डरमा १३ सेट ‘डिफिब्रिलेटर’,  पाँच सेट ‘पेसेन्ट मनिटर’, दुई सेट ‘ओटी कट्री मेसिन’, तीन सेट ‘भेन्टिलेटर फर न्यूवर्न’ र दुई सेट ‘डिजिटल रेडियोग्राफी मेसिन’ रहेको छ। यी फरक- फरक प्रकृतिका उपकरण हुन्। तर केन्द्रले मिलेमतो गर्नै एउटै प्याकेज बनाएर टेन्डर प्रक्रिया अगाडि बढाएको छ।

यो टेन्डरको  प्रि–बिड बैठक जेठ १६ (२०२५, मे ३०) लाई तोकिएको थियो। प्रि–बिड बैठक भइसकेको छ। टेन्डरको प्रि-बिड मिटिङमा सहभागी सप्लायर्स कम्पनीहरूले निश्चित सप्लायर्स कम्पनीलाई लक्षित गरेर स्पेसिफिकेसन लक्ड गरिएको र प्याकेज समेत अमिल्दो रहेको भन्दै संशोधनको प्रस्ताव राखेका छन्। तर मंगलबारसम्म संशोधन भएको छैन। संशोधन गर्ने समय अझै केही दिन बाँकी छ।

टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति असार २७ शुक्रवार (२०२५, जुन १०) दिउँसो १२ बजेलाई तोकिएको छ। सोही दिन दिउँसो दुई बजेलाई टेन्डर खुल्ने मिति तोकिएको छ।

खरिदका लागि बनेको स्पेसिफिकेसन संशोधन गरेर लक्ड गरिएको मापदण्डका बुँदा नहट्ने हो भने नेपाली सप्लायर्स कम्पनी ‘म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि’ले यो टेन्डर पाउने करिब निश्चित देखिन्छ। यसका सञ्चालक सुन्दर भुसाल हुन्।

मिलेमतो अनुसारका एउटा मात्रै सप्लायर्स कम्पनीले टेन्डर प्रस्ताव गर्दा बदनियत खुल्ने भएपछि दुई वा त्यो भन्दा बढी सप्लायर्स कम्पनीहरू मिलेर टेन्डर प्रस्ताव गर्ने गरेको देखिन्छ। तर अन्तमा टेन्डर भने खरिद मिलेमतो गर्ने सप्लायर्स व्यक्तिकै मिलेमतो अनुसार टेन्डरमा विभिन्न व्यक्तिको नाममा रहेका फर्मको प्रयोग हुने गरेको देखिन्छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले टेन्डर आह्वान गरेको यो ‘मेडिकल इक्वीप्मेन्ट’को ठेक्का (आइएफबी) नम्बर ‘एमपी-पीएचएलएमसी-एनसीबी-गुड्स-३२-२०८१-८२’ हो। मधे प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशक डा. सुनिल प्रसाद कुसवाहा हुन्।

प्याकेजसँगै आपूर्तिको समयमा ‘दोहोरो ‘लक्ड’

केन्द्रले ‘मेडिकल इक्वीप्मेन्ट’को यो टेन्डरमा पहिलो बदनियत खरिद प्याकेज र मापदण्डमै गरेको देखिन्छ। एउटा टेन्डरमा पाँच किसिमका एक अर्कासँग असम्बन्धित मेसिन, औजार तथा उपकरणको  प्याकेज बनाएर मापदण्डमा खेल्दै निश्चित चाहेकै सप्लार्सलाई नै टेन्डर दिनेगरी प्रक्रिया अगाडि बढाएको प्रस्टै देखिन्छ।

यो टेन्डरमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (आइसिबी) लाई निषेध गर्दै ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) विधि अपनाइएको छ।

केन्द्रले यो टेन्डर प्याकेजको पाँच किसिमकै सामग्री सम्झौता भएको ३० दिन भित्र वा असार १५ गतेभित्र ल्याइदिनुपर्ने अनौठो सर्त राखेको छ। टेन्डर कागजातमा भनिएको छ,‘वीद्इन ३० डेज् अफ सिग्नेचर अफ कन्ट्र्याक अर वीध्इन १५ असार २०८२’ उल्लेख छ।

यो वाक्य हेर्दा एकातर्फ ३० दिन भित्र वा असार १५  भित्रमा सामग्री ल्याइदिनुपर्ने दुई किसिमको अनौठो सर्त राखिएको छ।  यसबाट नै मिलेमतो अनुसार ढिलो टेन्डर गरी खरिद प्रक्रिया अगाडि बढाउँदै टेन्डर स्वीकृत भएर सम्झौता भएको मितिदेखि असार १५ सम्मको मितिको छोटो समय राखेर नेपालमा पहिल्यै ल्याएका सामग्री दिने रणनीति रहेको प्रस्ट देखिन्छ।

केन्द्रले प्याकेज गरेर अगाडि बढाएको यी मेसिन, औजार तथा उपकरण नेपालमा बन्दैनन्, विदेशबाट नै ल्याउने हो। सप्लायर्सले टेन्डर पाएपछि नै मेसिन तथा उपकरण ल्याउने प्रक्रिया अगाडि बढाउने हो।

एकातर्फ पाँच किसिमका सामग्रीको एउटै प्याकेज बनाएर टेन्डर भएको छ। अर्कोतर्फ अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गर्दै राष्ट्रिय प्रतिस्पर्धा (एनसीबी)मा मात्रै खुम्च्याउने अनि ३० भित्र वा मिति नै तोकेर असार १५ भित्र ल्याइसक्नुपर्ने सर्त राख्नु नै मिलेमतो भएको पुष्टि गर्ने थप आधार हुन्।

फरक-फरक उपकरणमा बदनियतको ‘प्याकेज’

फरक-फरक प्रकृति र काम भएका मेसिन, औजार तथा उपकरणलाई एउटै प्याकेज बनाएर टेन्डर गरेको बदनियत खुट्याउन कठिन छैन।

अब हेरौँ न, ‘डिफिब्रिलेटर’ले विशेष गरी अचानक हृदयाघात लगायतको मुटुको चालको गडबडी भएको अवस्थामा मुटुमा विद्युतीय झड्का दिएर मुटुको धड्कन सामान्य अवस्थामा फर्काउन  प्रयोग गरिन्छ। यो विशेष गरी शल्यक्रिया कक्ष, आकस्मिक कक्ष र क्रिटिकल केयर विभागमा आपतकालिन अवस्थामा प्रयोग हुन्छ।

‘पेसेन्ट मनिटर’ बिरामीको मुटुको चाल, रक्तचाप र अक्सिजनको तह जस्ता अवस्था थाहा पाउन प्रयोग गरिन्छ। यो विशेष गरी इन्टेन्सिभ केयर युनिट (आइसियु), आकस्मिक कक्ष (इआर) र अप्रेसन थिएटरमा प्रयोग हुन्छ। त्यसैगरी अस्पतालका वार्डहरूमा पनि स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीका लागि प्रयोग गरिन्छ।

‘ओटी कट्री मेसिन (इलेक्ट्रोसर्जिकल युनिट)’ले विद्युतीय प्रवाह प्रयोग गरेर बिरामीको शल्यक्रियाका क्रममा टिस्यु काट्न र रगत रोक्न प्रयोग हुन्छ। यो अप्रेसन थिएटरमा शल्यक्रियाका लागि प्रयोग गरिन्छ।

‘निओनेटल भेन्टिलेटर’ले सास फेर्न समस्या भएका नवजात शिशुलाई अक्सिजन दिन प्रयोग गरिन्छ। यो मेसिन विशेष गरी स्वास्थ्य अवस्था गम्भीर भएका नवजात शिशुको हेरचाह कक्ष (निओनेटल इन्टेन्सिभ केयर युनिट-एनआइसियु) र ‘इन्टेन्सिभ केयर युनिट (आइसियु)’मा प्रयोग गरिन्छ।

‘डीआर (डिजिटल रेडियोग्राफी)’ प्रणाली भएको मेसिनले छिटो र स्पष्ट देखिने गरी डिजिटल एक्स-रे गर्छ। यो मेसिनले शरीरको विभिन्न भागको एक्स-रे गरेर समस्या थाहा पाउन सहयोग गर्छ। डीआर मेसिन रेडियोलोजी विभागमा राखिने मेसिन हो।

यसरी हेर्दा एउटै प्याकेज बनाएर टेन्डर गरिएका यी पाँच किसिमकै मेसिन, औजार तथा उपकरणको कामको प्रकृति नै फरक छ। यी पाँचै किसिमका सामग्री राखिने विभाग पनि फरक फरक नै हुन्छन्। त्यसैले यो खरिदमा चार करोड ९८ लाखमा पाँच किसिमका मेसिन, औजार तथा उपकरणलाई एउटै प्याकेज बनाएर टेन्डर गर्नु मिलेमतोको बदनियत मात्रै देखिन्छ।

कानुन अनुसार पनि यो टेन्डरको प्याकेज गर्नु बदनियत नै देखिन्छ। हालै संशोधन भएको भ्रष्टाचार निवारण ऐन, २०८१ मा राखिएको प्रावधान र मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले अगाडि बढाएको यो खरिद प्रक्रियाको मापदण्ड हेर्ने हो भने सिधै भ्रष्टाचार देखिन्छ।

ऐनमा ‘प्रतिस्पर्धालाई जानी जानी प्रभाव शून्य वा सीमित वा कमजोर बनाउने उद्देश्यले सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून प्रतिकुल हुने गरी सर्त तथा मापदण्ड निर्धारण गर्ने, गराउने वा खरिद कार्यलाई टुक्र्याउने, टुक्र्याउन लगाउने वा प्याकेजिङ गर्ने गराउने’ कामलाई भ्रष्टाचार मानेको छ।

ऐनले यस्तो काम गरेको प्रमाणित भएको खण्डमा तीन वर्ष सम्म कैद र बिगो बमोजिम जरिवाना गरी असुल उपर गरिने उल्लेख छ। ऐनमा ‘मनासिब कारण बिना लागत इष्टिमेट अस्वाभाविक रूपमा बढाई संशोधन गरी काम गर्ने, गराउने’ गैर कानुनी लाभ वा हानि पुर्याउने बदनियतले काम गर्नेलाई सजाय हुने थप व्यवस्था गरेको छ। यसमा पनि तीन वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना र बिगो असुल उपर गरिने व्यवस्था छ।

मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको यो टेन्डरमा गरिएका प्याकेजहरू हेर्दा भ्रष्टाचार निवारण ऐनको यो व्यवस्था अनुसार सिधै भ्रष्टाचार देखिन्छ।

जेठ २०, २०८२ मंगलबार २१:१३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।