‘साइकल देखेनौ सरकार, अब देख्छौ कि ?’

काठमाडौं : विश्व साइकल दिवस २०२५ को अवसरमा ‘स्वच्छ हावाका लागि साइकल’ अभियान अन्तर्गत सिंहदरबार अगाडि अनौठो दृश्य देखियो- एक विशाल साइकलको साथमा उठाइएको प्रश्न थियो, ‘साइकल देखेनौ सरकार, अब देख्छौ कि ?’
प्रदर्शनको उद्देश्य सहरी वायु प्रदूषण, ट्राफिक जाम, शहरी आवाज र कार्बन उत्सर्जन जस्ता संकटको समाधानका रूपमा साइकललाई अघि सार्दै सरकारको ध्यान तान्नु थियो। अभियानका सदस्यहरूका अनुसार काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरमा उक्लिएको गत हिउँदयता यस्ता जनचेतनामूलक प्रदर्शनहरू भइरहेका छन्।
‘स्वच्छ हावाका लागि साइकल’ विभिन्न साइक्लिङ समूह र संस्थाहरूको सामूहिक पहल हो। जसले साइकल प्रयोगकर्ताका अधिकार सुनिश्चित गर्न र जनसाधारणलाई निजी सवारीको सट्टा साइकलतर्फ आकर्षित गर्न नीति तथा पूर्वाधार निर्माणको माग गर्दै आएको छ।
गत शनिबार यसै अभियानअन्तर्गत वसन्तपुर दरबार स्क्वायरबाट सुरु भएको साइकल र्यालीमा झण्डै ८०० जना सहभागी भएका थिए। कार्यक्रममा सहरी विकास मन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले सहभागीहरूलाई सम्बोधन गर्दै सहरी यातायातको भविष्यमा साइकलको भूमिकालाई मान्यता दिने बताए।
जेठ २०, २०८२ मंगलबार २०:४९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।