गठबन्धन गराउने निर्वाचन प्रणालीले देश ध्वस्त बनायो, संविधान संशोधनको विकल्प छैन : महामन्त्री थापा

नेपालगञ्ज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनको काम अब ढिलो नगरी सुरू गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपालगञ्जमा सोमबार आयोजित कांग्रेस बाँके क्षेत्रीय प्रतिनिधिसभा सम्मेलन उद्घाटन गर्दै उनले संविधानमा आवश्यक सुधार नगरे देशको राजनीतिक अस्थिरता अझै गहिरिन सक्ने बताए।
महामन्त्री थापाले कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति पूरा गर्नुपर्ने बेला आएको बताए। ‘अब समय छ- त्यो सहमति कार्यान्वयन गर्ने,’ उनले भने, ‘संविधान संशोधन बिना अबको राजनीतिक स्थायित्व सम्भव छैन।’
उनले अब एउटै पार्टीले सरकार बनाउने प्रणाली ल्याउनुपर्नेमा जोड दिंदै अहिलेको गठबन्धनमुखी चुनाव प्रणालीले देशमा दीर्घकालीन अस्थिरता निम्त्याएको टिप्पणी गरे। ‘निर्वाचन प्रणाली नै सच्याउनुपर्छ,’ उनले भने, ‘यसका लागि संविधान संशोधन विकल्प होइन, आवश्यकता हो।’
थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म कायम राख्दै खर्च घटाउने दिशामा पनि संविधानमा सुधार हुनुपर्ने धारणा राखे। उनले संघीय सरकारमा १०-१५ र प्रदेश सरकारमा ३-५ जना मन्त्री राखेर कार्यक्षमता बढाउन सकिने बताए।
‘संघीयता चाहिन्छ, तर अहिलेको शैलीमा होइन,’ उनले भने, ‘संविधान सुधारमार्फत संघीयता प्रभावकारी बनाउन सकिन्छ।’
कार्यक्रममा थापाले राजसंस्थाको बहालीको बहानामा असन्तुष्टि भड्काउने प्रयास भइरहेको पनि आरोप लगाए। ‘राजसंस्था कहिल्यै संवैधानिक थिएन,’ उनले स्पष्ट पारे, ‘अब लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा मात्र कांग्रेसको ध्यान केन्द्रित छ।’
जेठ २०, २०८२ मंगलबार २०:२६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।