खेतमा चरीरहेका पाँच भैँसी र एक राँगा अचानक ढले

कपिलवस्तु : विजयनगर गाउँपालिका-५ नौरङ्गियामा पाँच ओटा भैँसी र एक राँगाको मृत्यु भएको छ।
स्थानीय बिरे अहिरका अनुसार मंगलबार बिहान करिब ७ बजेतिर चरी घाँस चराएपछि एक घण्टाभित्रै उनका ब्याउने भैँसी र राँगाको ज्यान गएको हो। उनले चारवटा भैँसी अझै गम्भीर बिरामी अवस्थामा रहेको बताए।
खेतमा लगाइएको चरी घाँस खाएपछि पशुहरू अकस्मात लडेका थिए। विजयनगर गाउँपालिकाको पशु विकास शाखाका प्रमुख प्रहलाद ठाकुरले घाँसमा विषालु तत्व भएको आशंका गरे पनि मृत्युको कारण पुष्टिका लागि पोस्टमार्टम रिपोर्ट पर्खिनुपर्ने बताए।
‘अहिलेका लागि हामीले बिरामी भएका भैँसीहरूलाई तत्काल औषधि उपचार गरेका छौं,’ प्रमुख ठाकुरले भने, ‘पोस्टमार्टम रिपोर्टपछि मात्रै ठोस निष्कर्षमा पुग्न सकिन्छ।’
घटनाबारे थप अनुसन्धान भइरहेको गाउँपालिकाले जनाएको छ।
जेठ २०, २०८२ मंगलबार १९:३०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।