यो वर्ष करिब २० लाख मानिस मनसुनजन्य विपद्‌बाट प्रभावित हुने प्रक्षेपण

यो वर्ष करिब २० लाख मानिस मनसुनजन्य विपद्‌बाट प्रभावित हुने प्रक्षेपण
ai image

काठमाडौं : यो वर्ष करिब २० लाख मानिस मनसुनजन्य विपद्‌बाट प्रभावित हुने प्रक्षेपण गरिएको छ। यसकारण विपद् व्यवस्थापन प्रणालीलाई सशक्त बनाउने तयारीमा सरकार जुटेको छ।

मनसुनजन्य विपद् व्यवस्थापनका लागि व्यापक तयारी थालिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्यो।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बास्तोलाले विगतका अनुभवलाई ध्यानमा राख्दै यसपालिको मनसुनमा जोखिम न्यूनीकरणमा विशेष जोड दिइएको बताए।

‘विपद् पूर्वसूचना प्रणालीलाई अझ सशक्त बनाउँदै जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्याउने व्यवस्था मिलाइनेछ,’ बास्तोलाले भने, ‘सरोकारवाला निकायहरूबीच सहकार्य र समन्वय बढाएर विपद् प्रतिकार्यलाई प्रभावकारी बनाइन्छ।’

यसैबीच, जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ।

प्राधिकरणका अनुसार पूर्वसूचना प्रणाली, चेतना अभिवृद्धि, जोखिममा परेका क्षेत्रहरूको पहिचान र तिनको संरक्षणका लागि तयारी अघि बढाइएको छ।

जेठ २०, २०८२ मंगलबार १८:५४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।