‘निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुन्छ भन्ने भ्रमबाट मुक्त भए हुन्छ’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन रोकिने भ्रम नगर्न चेतावनी दिएका छन्।
मंगलबार काठमाडौंमा आयोजित संयुक्त जनआन्दोलनको कार्यक्रममा बोल्दै उनले सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन र जनताको परिवर्तन चाहनालाई दबाउन नसकिने बताए।
‘नेपालको इतिहासमै पहिलो पटक काठमाडौं महानगरपालिका निषेधित क्षेत्र घोषणा भएको छ’, उनले भने, ‘तर आन्दोलन रोकिन्छ भन्ने सोच राख्ने भ्रष्ट शासकहरू भ्रममा छन्। त्यो भ्रमबाट मुक्त हुन आग्रह गर्छु।’ थापाले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्नु सरकारको कायरता भएको टिप्पणी गरे।
‘कुनै कानुन उल्लंघन नगरी भएको शान्तिपूर्ण जुलुसमाथि लाठी चार्ज, बुट प्रहार र प्रतिबन्धजस्ता दुस्साहसपूर्ण कदम चालेर भ्रष्ट व्यवस्था र शासकहरूलाई जोगाउन सकिन्छ भन्ने सोच राख्नु केवल सपना मात्र हो’, उनले भने।
उनले जनताको आवाजलाई निषेध गरेर लोकतन्त्र जोगाउने नाममा अत्याचार गर्नु गम्भीर अपराध भएको बताए। ‘निषेध गरेर होइन, सुनेर समाधान गर्नुपर्छ’, थापाले जोड दिए।
जेठ २०, २०८२ मंगलबार १८:३८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।