डम्पिङ साइट व्यवस्थित गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिए वीरेन्द्रनगरका स्थानीय

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१ स्थित बतासे डाँडामा रहेको डम्पिङ साइट व्यवस्थित गर्नुपर्ने मागसहित स्थानीयवासी तीन दिनदेखि आन्दोलनमा छन्। नगरपालिका भरिका १२ वटै वडाको फोहोर यही डाँडामा अव्यवस्थित रूपमा थुपारिएर जलाइने गरिएकाले बस्तीमा दुर्गन्ध, धुवाँ र स्वास्थ्य समस्याले सताएको स्थानीयको गुनासो छ।
पटकपटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले बेवास्ता गरेपछि बाध्य भएर सडकमा उत्रनु परेको बतासे डाँडा फोहोर व्यवस्थापन संघर्ष समिति संयोजक बलभद्र पुरीले बताए। ‘दीर्घकालीन समाधान नभएसम्म फोहोर फाल्न दिँदैनौं, हाम्रो आन्दोलन जारी रहन्छ,’ उनले भने। स्थानीयले सडकमा ढुंगा र काठ राखेर डम्पिङ साइटतर्फ जाने गाडी अवरुद्ध गरेका छन्।
बतासे डाँडा श्रीकृष्ण सामुदायिक वनभित्र पर्छ भने छेउमै बराहताल गाउँपालिका–१० अवस्थित छ। यी दुवै क्षेत्र डम्पिङ साइटको प्रत्यक्ष असरमा परेका छन्। दैनिक १२ टनजति फोहोर यहीँ थुपारिन्छ, जसमा नगरपालिकाले मात्र दुई जना कर्मचारी खटाएको छ। तर, व्यवस्थापन भने अत्यन्तै जोखिमपूर्ण रहेको स्थानीय बताउँछन्।
स्थानीय टेकबहादुर विकले भने, ‘फोहोरमा सिधै आगो लगाउँछन्, धुवाँले सास फेर्नै गाह्रो हुन्छ। हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ।’ धारापानी, बाङ्गेसिमल र सिमलचौर जस्ता बस्तीमा दुर्गन्ध र प्रदूषणको प्रभाव गहिरिँदै गएको छ।
यता वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले आन्दोलनबारे औपचारिक जानकारी नगरलाई नदिइएको बताइन्। ‘कुनै ज्ञापनपत्र वा जानकारी बिना फोहोर रोकिएको छ, हामी पनि किन यस्तो भयो भनेर बुझिरहेका छौं,’ उनले भनिन्।
स्थानीयवासीले तत्काल समस्या समाधान नभए अझ व्यापक आन्दोलनको चेतावनी दिएका छन्। फोहोर व्यवस्थापनको दिगो विकल्प नखोजेसम्म बतासे डाँडामा फोहोर फाल्न नदिने उनीहरूको अडान छ।
जेठ २०, २०८२ मंगलबार १७:४४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।