प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न खोज्ने नगर प्रहरी प्रमुख पाण्डे ६ महिना निलम्बनमा

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्।
पाण्डेमाथि छानबिन आवश्यक ठहर गर्दै निलम्बनको पत्र पठाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बताए।
यसअघि मेयर बालेन शाहको मौखिक निर्देशनपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक्ने प्रयास गरिएको विषयमा पाण्डेसँग स्पष्टीकरण मागिएको थियो। सो सम्बन्धमा उनीमाथि सातबुँदे आरोपसहित स्पष्टिकरण सोधिएको थियो।
महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रहने कानुनी व्यवस्था छ। तर, पाण्डेले त्यसको अवज्ञा गर्दै कार्यालयमा ताला लगाउने, गाडीमा ह्विल लक राख्ने, हाजिर पुस्तिका कब्जामा लिनेजस्ता कार्य गरेको आरोप लागेका छन्।
पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए। महानगरले थप छानबिन आवश्यक देखिएपछि उनलाई निलम्बन गर्दै छानबिनका लागि जाँचबुझ समिति गठन गरेको छ।
जेठ २०, २०८२ मंगलबार १६:५७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।