लगातार फिल्म फ्लप भएपछि गुमनाम साम्राज्ञी

लगातार फिल्म फ्लप भएपछि गुमनाम साम्राज्ञी

काठमाडौं : फिल्म ‘ड्रिम्स’बाट नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले पहिलो फिल्मबाटै निकै चर्चा र सफलता पाइन्।

त्यसपछि ‘ए मेरो हजुर २’बाट पनि उनले दर्शकमाझ आफूलाई स्थापित गरिन्। यद्यपि, यी दुई फिल्मको चर्चासँगै उनको व्यक्तिगत जीवन र शैली (विशेषगरी तस्बिरहरू) ले पनि उत्तिकै चर्चा पाए।

तर, सुरुवाती सफलतालाई उनले निरन्तरता दिन सकिनन्। ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’, र जितु नेपालसँगको ‘ह्रयारी कि प्यारी’ जस्ता लगातारका फिल्महरू बक्स अफिसमा असफल रहे।

यी फिल्महरूको असफलताले उनको करियरमा धक्का लाग्यो। यसैबीच, दुई वर्षअघि धिरज मगरसँग घोषणा भएको फिल्म ‘रुमानी रङ’ पनि निर्माण सुरू हुन सकेन।

गत वर्ष जेठमा प्रदर्शनमा आएको ‘लण्डन टु पेरिस’ले पनि बक्स अफिसमा पानी समेत भन्न पाएन। लगातार फिल्म असफल भएपछि साम्राज्ञी केही समय गुमनामजस्तै भइन् र सार्वजनिक चर्चाबाट टाढै रहिन्।

पछिल्लो समय उनी एक म्युजिक भिडियोमा देखा परेकी थिइन्, जसको चर्चा महँगो पारिश्रमिकको विषयमा भए पनि गीत वा भिडियोले खासै सफलता पाएन।

यसैबीच, उनले गुमनाम शैलीमा नै फिल्म ‘आहुती’को छायांकन सकेकी छिन्। पाँचथरमा छायांकन गरिएको यस फिल्ममा उनी गायक प्रकाश दुतराजको जोडीको रुपमा देखिएकी छिन्। रोचक कुरा, यो फिल्ममा उनकी आमा, गायिका नेहा शाहले पनि अभिनय गरेकी छिन्।

अब भने उनी अर्को फिल्म ‘जदौ’मा देखिने पक्का भएको छ। गत बैशाख १ गते घोषणा भएको यो फिल्मको छायांकन भदौबाट सुरू गर्ने निर्माण पक्षको तयारी छ। सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज मिलेर बनाउन लागेको यस फिल्मको परिकल्पना र लेखन काजी लिम्बूले गरेका छन् तर निर्देशक अझै टुङ्गो लागेको छैन।

सुरुवाती उचाइपछि लगातारको असफलताले साम्राज्ञीको करियरमा चुनौती थपेको छ। राम्रो स्क्रिप्ट छनोट गर्न नसकेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ। यस्तो अवस्थामा गुमनाम शैलीमा गरिएका नयाँ प्रोजेक्टहरू ‘आहुती’ र ‘जदौ’ उनका लागि महत्वपूर्ण हुन सक्छन्।

जेठ २०, २०८२ मंगलबार १४:२६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।