रुपन्देहीका खोलाहरूबाट अवैध ढुंगागिट्टी निकासी गर्ने कश्यप रोडा उद्योग कारबाहीमा

रुपन्देहीका खोलाहरूबाट अवैध ढुंगागिट्टी निकासी गर्ने कश्यप रोडा उद्योग कारबाहीमा

बुटवल : रुपन्देहीको तिलोत्तमा-६ गोरकट्टास्थित कश्यप नमूना रोडा उद्योगलाई अवैध रूपमा नदीजन्य पदार्थ भण्डारण गरेको आरोपमा कारबाही गरिएको छ।

नियामक निकायको मौनताको फाइदा उठाउँदै जिल्लाका खोलाहरूबाट अवैध रुपमा ढुंगागिट्टीको उत्खनन तथा बिक्री भइरहेका बेला सो उद्योग कारबाहीमा परेको हो।

स्थानीय सरकारहरूले नदीजन्य पदार्थ निकाल्न ठेक्का लगाएपछि खोलाहरूमा अनियन्त्रित उत्खनन बढेको र ठेकेदारहरूले निश्चित आयोजनाका लागि तोकिएका पदार्थ सिधै क्रसर उद्योगमा लैजाने गरेको पाइएको छ।

कश्यप नमूना रोडा उद्योगमा तोकिएको घाटगद्दीमा लैजानुपर्ने ढुंगागिट्टी सिधै क्रसर उद्योगमा लगेको भेटिएपछि जिल्लाको अनुगमन टोलीले उक्त उद्योगलाई कारबाही गरेको हो।

तिनाउ नदी उत्खननको ठेक्का पाएका ठेकेदारले शनिबार बिहान बा ०३००१ ख ०७२५ नम्बरको टिपरबाट घाटगद्दीमा लैजानुपर्ने नदीजन्य पदार्थ सिधै कश्यप नमूना रोडा उद्योगमा पुर्याएको भेटिएको थियो। सोही आधारमा जिल्लाको अनुगमन टोलीले क्रसर उद्योगलाई कारबाही गरेको हो।

अनुगमन समितिले गोरकट्टामा भइरहेको उत्खनन कार्य समेत बन्द गराएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले कश्यप रोडा उद्योगमा अवैध ढङ्गले ठूलो परिमाणमा ‘ताजा’ ढुंगागिट्टी गएको देखिएकाले सोको बिक्री वितरण बन्द गराइएको बताए।

जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईंले मापदण्ड विपरीत खोला उत्खनन भइरहेको बारे स्थानीयबाट गुनासो आएको भन्दै आफूहरूले अनुगमनलाई जारी राखेको बताए। उनले मापदण्डविपरीत उत्खनन भेटिएमा सबैलाई कारबाही गरिने समेत स्पष्ट पारे।

रूपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, गैडहवा, शुद्धोधन र सियारी गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने तिनाउ, दानव, भलुही, चरङ्गे खोलामा नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाएका छन्।

ती खोलाबाट ढुंगा, गिट्टी र बालुवा निकाल्दा निश्चित मापदण्ड र नियम पूरा गर्नुपर्ने भए पनि त्यसो नगरिएको स्थानीयवासीको गुनासो छ। त्यति मात्र होइन, खोलाबाट उत्खनन गरिएको नदीजन्य पदार्थ स्थानीय जनप्रतिनिधि र प्रहरीसमेतको मिलेमतोमा सिधै क्रसर उद्योगमा लैजाने गरेको स्थानीयको आरोप छ।

‘यी क्रसरमा ताजा नदीजन्य पदार्थ खोलाबाट सिधै लगिन्छ। प्रहरी र जनप्रतिनिधिले थाहा पाए पनि नपाएजस्तो गर्छन्,’ एक स्थानीयवासीले भने, ‘खोलाभरी स्काभेटर र टिप्पर मात्र छन्। बिहानदेखि साँझसम्म मापदण्डविपरीत उत्खनन हुँदा समेत नियामक निकाय बेखबर छ।’

तिलोत्तमा र बुटवलले ठेक्का लगाएका घाटगद्दी नजिकै गोरकट्टा र हरपुर क्षेत्रमा कश्यप, कालिका, कामना, सिद्धेश्वरी कामना, मुक्तिनाथ, न्यू श्रृष्टि लगायत आधा दर्जनभन्दा बढी क्रसर उद्योग छन्।

जेठ २०, २०८२ मंगलबार १३:३४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।