प्रतिनिधि सभाको बैठक २ बजेका लागि सारियो, गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी तयार

प्रतिनिधि सभाको बैठक २ बजेका लागि सारियो, गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी तयार

काठमाडौं : विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिन तयार भएसँगै प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ।

बैठक बस्ने वातावरण तयार पार्नका लागि सत्ताधारी र प्रतिपक्षी दलहरू आ-आफ्नै छलफलमा रहँदा प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि सारिएको हो।

बैठक विहान ११ बजेका लागि तोकिएको भए पनि दलहरूबीच बैठक सञ्चालनको सहमति हुन नसक्दा अहिलेसम्म बस्न सकेको थिएन।

यद्यपि  सभामुख र दलका प्रमुख सचेतकहरूको बैठकमा विपक्षी दलहरू गृहमन्त्री लेखकलाई बोल्न दिन तयार भएका हुन्। गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा धारणा राखेर सदन सुचारू गर्ने सहमति भएको बताइएको छ।

गृहमन्त्रीको राजीमाना माग्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजानन्त्र पार्टीले लगातार सदनमा अवरोध गरिरहेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन्।

जेठ २०, २०८२ मंगलबार १३:१०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।