सार्वजनिक सवारी बन्दपछि आज पनि सर्वसाधारणलाई उत्तिकै सास्ती

सार्वजनिक सवारी बन्दपछि आज पनि सर्वसाधारणलाई उत्तिकै सास्ती

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार पनि अधिकांश सार्वजनिक सवारी साधन सञ्चालनमा नआउँदा यात्रुहरू मर्कामा परेका छन्।

दैनिक कामकाजमा निस्कने सर्वसाधारण सार्वजनिक यातायातको अभावमा समस्यामा परेका हुन्।

सोमबारको तुलनामा मंगलबार केही सवारी साधन छिटफुट रूपमा सञ्चालनमा आएको  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए।

‘हिजोको तुलनामा आज केही गाडीहरू चलेका छन्’, उनले भने।

त्यस्तै, साझा यातायातका बसहरू पनि मंगलबार सडकमा देखिएका छन्। यात्रुको असुविधालाई मध्यनजर गर्दै प्रहरीले पनि काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको थियो।

सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ सम्बन्धी नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भए पनि यातायात व्यवसायीले मंगलबार पनि सार्वजनिक सवारी साधन पूर्ण रूपमा सञ्चालनमा नल्याएको देखियो।

यसअघि सोमबार पनि काठमाडौं उपत्यकासहित देशका केही स्थानमा सार्वजनिक सवारी बन्द हुँदा सर्वसाधारणले सास्ती खेपेका थिए।

जेठ २०, २०८२ मंगलबार १२:०३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।