मध्यरातमा पाकिस्तानको जेलबाट २१६ कैदी भागेपछि...

मध्यरातमा पाकिस्तानको जेलबाट २१६ कैदी भागेपछि...

एजेन्सी : पाकिस्तानको कराँचीस्थित मालिर जेलबाट सोमबार राति २१६ कैदी भागेका छन्।

कराँचीमा भूकम्पको धक्का महसुस भएपछि सावधानी अपनाउँदै कैदीहरूलाई ब्यारेकबाट बाहिर निकालिएको समयमा ती कैदीहरू भागेको जेल प्रशासनले जनाएको छ।

जियो न्यूजका अनुसार भागेकामध्ये ८० कैदीलाई पुनः पक्राउ गरिएको छ भने १३५ कैदी अझै फरार छन्। जेल सुपरिटेन्डेन्ट अरशद शाहले मंगलबार बिहान यस विषयको पुष्टि गरेको समाचारमा उल्लेख छ।

यसअघि धेरै मिडिया रिपोर्टहरूले पर्खाल भत्काएर कैदीहरू भागेको बताएका थिए। प्रशासनले कुनै पनि पर्खाल नभत्किएको स्पष्ट पारेको छ, भागदौडको समयमा सबै कैदीहरू मुख्य ढोकाबाट भागेका थिए।

भूकम्पपछि सात सयदेखि एक हजार कैदीहरूलाई ब्यारेकबाट बाहिर ल्याइएको गृहमन्त्री लन्जरले बताए। यस अवस्थामा १०० भन्दा बढी कैदीहरू मुख्य ढोका धकेलेर भत्काउन लागेका थिए।

जेल प्रशासनका अनुसार खोजी कार्य अझै जारी छ। यस कार्यमा विशेष सुरक्षा एकाइ, र्यापिड रेस्पोन्स फोर्स, रेन्जर्स र फ्रन्टियर कोर्प्सका टोलीहरू मिलेर काम गरिरहेका छन्।

घटना लगत्तै रेन्जर र एफसीले जेललाई आफ्नो नियन्त्रणमा लिए। आईजी जेल, डीआईजी जेल र जेल मन्त्री घटनास्थलमा पुगेर स्थितिको अवलोकन गरे।

दुर्घटनामा एक कैदीको मृत्यु, ४ सुरक्षाकर्मी घाइते
भूकम्पपछि भएको भागदौडमा एक कैदीको मृत्यु भएको खबर आएको छ भने चार सुरक्षाकर्मी घाइते भएका छन्। प्रशासनिक लापरवाहीका कारण घटना हुन गएको गृहमन्त्रीले स्वीकार गरेका छन्।

मुख्यमन्त्री मुराद अली शाहलाई घटनाबारे पूर्ण जानकारी दिएसँगै उनले गृहमन्त्रीलाई जेल गएर स्थितिको अनुगमन गर्न निर्देशन दिएका छन्।

सिन्धका गभर्नर कामरान टेसोरीले पनि घटनाको बारेमा जानकारी लिए र गृहमन्त्री र सिन्ध प्रहरीका आईजीलाई सबै कैदीहरूलाई चाँडै पक्राउ गर्न भने।

गृहमन्त्री लन्जरले भने कि भागेका प्रत्येक कैदीको पहिचान र रेकर्ड उपलब्ध भएकाले पक्राउ गर्ने धेरै समय नलाग्ने दाबी गरेका छन्।

जेठ २०, २०८२ मंगलबार ११:२०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।