गाजामा राहत लिन गएका सर्वसाधारणमाथि गोलीबारी, संयुक्त राष्ट्रसंघले भन्यो- ‘अनुसन्धान हुनुपर्छ’

एजेन्सी : गाजामा सहायता सामग्री वितरण भइरहेका बेला आइतबार भएको गोलीबारीमा प्यालेस्टिनीहरूको ज्यान गएपछि संयुक्त राष्ट्रसंघले त्यसको गम्भीर अनुसन्धान गर्न माग गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अनुसन्धानको आह्वान गरेका हुन्।
आइतबार गाजामा खाना र राहत सामग्री लिन भेला भएका प्यालेस्टिनीहरूमाथि गोली चलाइएको थियो। प्रत्यक्षदर्शीहरू र विभिन्न रिपोर्टहरूले इजरायली सेनाको गोलीबारीमा उनीहरूको मृत्यु भएको बताएका छन्।
यस घटनामा ज्यान गुमाउनेको संख्याबारे फरक-फरक तथ्याङ्क आएका छन्। रेडक्रसका अस्पतालहरूले १७९ जनासम्मको हताहती भएकोमा २१ जनाको मृत्यु भएको उल्लेख छ। यता, हमासद्वारा सञ्चालित नागरिक रक्षा निकायले भने कम्तीमा ३१ जनाको मृत्यु भएको जनाएको छ।
महासचिव गुटेरेसले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आइतबार खाना र राहत लिन आएका प्यालेस्टिनीहरू मारिएको र घाइते भएको खबरले मलाई दुःखी बनाएको छ। यस्ता घटनाहरूको पूर्ण र पारदर्शी अनुसन्धान हुनुपर्छ।’
गाजामा केही हप्ताको नाकाबन्दीपछि भर्खरै इजरायल र अमेरिकाको सहयोगमा चलेको ‘गाजा मानवीय फाउन्डेसन’ले खाना र अरू राहत बाँड्न सुरू गरेको थियो।
जेठ २०, २०८२ मंगलबार ०८:४०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।