सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने विपक्षीको अडान

काठमाडौं : सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ बजे प्रतिनिधिसभा र दिउँसो १ः१५ बजे राष्ट्रियसभाको बैठक सुरु हुनेछ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। उक्त प्रस्तावमाथि छलफल हुनेछ।
त्यस्तै, बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि छ।
यसैगरी, राष्ट्रियसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
तर, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्।
गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसामा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्दा गृहमन्त्री लेखकको सचिवालयका सदस्यहरू समेत मुछिएपछि मन्त्री लेखकमाथि पनि छानबिन गर्नुपर्ने माग विपक्षी दलहरूले राखेका छन्।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने बताए। बजेट भाषणको भोलिपल्ट अर्थात् जेठ १६ गते बसेको माओवादी केन्द्रको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदमा अवरोध जारी राख्ने निर्णय गरेको थियो।
यसैगरी जेठ १९ गते बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानविन आयोगमार्फत गृहमन्त्री लेखकमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि उनले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको थियो।
जेठ २०, २०८२ मंगलबार ०७:५४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।