कुशल र करणको शानदार अर्धशतक : स्कटल्याण्डमाथि नेपालको कीर्तिमानी जित

कुशल र करणको शानदार अर्धशतक : स्कटल्याण्डमाथि नेपालको कीर्तिमानी जित

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै कीर्तिमानी जित दर्ता गरेको छ।

स्कटल्याण्डले दिएको २९७ रनको विशाल लक्ष्य नेपालले नवौं नम्बरका ब्याट्सम्यान करण केसीको अविजित सानदार अर्धशतकको मद्दतमा अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्यो।

यो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले सफलतापूर्वक पूरा गरेको हालसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो। स्कटल्यान्डको डुन्डी मैदानमा भएको खेलमा यो नै सबैभन्दा धेरै रन चेज हो। यसअघि यहाँ नामिबियाले ओमानविरुद्ध २३४ रनको रन भेट्टाएको थियो।

डुन्डीमा भएको खेलमा २९७ रनको लक्ष्य पछ्याएको नेपालका लागि नायक बनेका करण केसीले ४१ बलमा ३ चौका र ४ छक्कासहित अविजित ६५ रन बनाए। ओडिआई करियरको पहिलो अर्धशतक प्रहार गरेका उनलाई म्यान अफ द म्याच घोषित गरियो।

एक समय १९२ रनमा ७ विकेट गुमाएर दबाबमा रहेको नेपाललाई करणले गुल्शन झा (४२) सँग मिलेर आठौं विकेटका लागि ६० रनको महत्त्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारेका थिए।

रोमाञ्चक बनेको खेलमा करणले अन्तिम ओभरमा संयमित ब्याटिङ गर्दै नेपाललाई जित दिलाए। नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३, गुल्शन झाले ४२, भीम सार्कीले ४० र कप्तान रोहित पौडेलले ३७ रनको योगदान दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो। स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाएका थिए भने फिनले म्याकरिथले ५५ रन जोडे।

बलिङतर्फ नेपालका लागि करण केसी, सोमपाल कामी र रिजन ढकालले समान २-२ विकेट लिएका थिए। स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले ३ विकेट लिए।

यो जितसँगै नेपाल लिग २ को अंकतालिकामा १३ खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा उक्लिएको छ। स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ।

जेठ २०, २०८२ मंगलबार ०७:३२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।