भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने रास्वपाको अडान

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा  दिनुपर्ने रास्वपाको अडान

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी भिजिट भिसामा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागमा अडिएको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न गृहमन्त्रीको राजीनामा मागिनुपर्ने निष्कर्ष निकालेको हो।

भिजिट भिसा सेटिङबाट ४ अर्ब भन्दा बढी रकम घुस काण्डमा गृहमन्त्रीको सचिवालयको संलग्नता देखिएका तथ्यहरू सार्वजनिक भइरहेको र गृहमन्त्रीकै संलग्नताको बाछिटाहरू समेत देखिएको उसको निष्कर्ष छ।

सत्ताधारी दल आफैँ फैसला गर्ने निकाय जसरी गम्भीर आरोप लागेका दोषी जोगाउने र जनताको आँखामा धुलो फ्याँक्ने प्रयास भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बैठकले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा काण्डमा अनुसन्धान थाले पश्चात् मुख्य अभियुक्तलाई अनुसन्धानको घेरा बाहिर राख्ने प्रयत्न स्वरूप गृहमन्त्रीले अध्यागमन प्रमुखको सरुवा गर्ने, अनुसन्धानमा खटिएका अख्तियारका डिआइजीको सरुवा गर्ने, प्रमाण नष्ट गर्ने नियतले संयन्त्र परिचालन गर्ने लगायतका घटना भएको बैठकको दाबी छ।

‘गृहमन्त्रीले तत्काल राजीनामा दिएर गृह मन्त्रालय मातहतको निकायलाई निष्पक्ष अनुसन्धानमा सघाउनु पर्ने पार्टीको धारणा रहेको छ,’ सचिवालय बैठकको निर्णयमा भनिएको छ ‘आफैँले स्थापित गरेको नैतिकताको मापदण्डमा चुकेको र कर्तव्यपालनमा लापरबाही देखिँदै गर्दा निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न गृहमन्त्रीको राजीनामा मागिनुपर्ने निष्कर्ष पार्टी सचिवालयको छ।’

अर्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि गृहमन्त्रीको राजीनामा माग्दै आएको छ। बजेट अगाडि प्रतिपक्षी दलहरूले संसद् अवरोध गरे पनि जेठ १५ मा बजेटका लागि संसद् चल्न दिएका थिए। अब भने पुन संसद् अवरुद्ध गर्ने तयारीमा लागेका छन्।

गृहमन्त्री लेखकले भने आफू विरुद्ध कतै उजुरी नपरेको र अख्तियारले आफूबारे अनुसन्धान नगरेको दाबी गर्दै कर्मचारी अनुसन्धानमा तानिँदैमा राजीनामा दिनु नपर्ने तर्क गर्दै आएका छन्।

जेठ १९, २०८२ सोमबार २०:५१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।