इरानमा ३५ वटा इन्धन तस्कर गिरोह नियन्त्रणमा, सयौंको खाता रोक्का

इरानमा ३५ वटा इन्धन तस्कर गिरोह नियन्त्रणमा, सयौंको खाता रोक्का

एजेन्सी : इरानमा तीन प्रान्तमा इन्धन तस्करीमा संलग्न ३५ वटा व्यवस्थित र व्यावसायिक समूहहरू ध्वस्त पारिएको छ।

गुप्तचर र विशेष कारबाहीपछि ती समूहहरूको भित्रसम्म पुग्न सफल भएर सुरक्षाकर्मीहरूले तिनीहरूलाई नियन्त्रणमा लिएको इरानको गुप्तचर मन्त्रालयले आइतबार जनाएको छ। मन्त्रालयका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी तस्कर समूहका प्रमुख सदस्यहरूलाई पक्राउ गरिएको छ।

हर्मोज्गान, तेहरान र अलबोर्ज प्रान्तबाट उनीहरूलाई पक्राउ गरिएको मन्त्रालयले जानकारी दिएको छ। ती समूहहरूले गरेको इन्धन तस्करीको अनुमानित मूल्य एक अर्ब ८२ करोड अमेरिकी डलर बराबर रहेको बताइएको छ।

मन्त्रालयका अनुसार पक्राउ परेकासँग सम्बन्धित सात सयभन्दा बढी व्यक्तिका बैंक खाता पनि रोक्का गरिएको छ। ती व्यक्तिहरू विगत केही वर्षदेखि ठूलो मात्रामा रकम अपचलनमा संलग्न रहेको पाइएको हो।

इरानमा सरकारद्वारा इन्धनमा दिइने अनुदानका कारण त्यसको तस्करी एक फाइदाजनक कारोबार बनेको छ। पछिल्ला वर्षहरूमा इरानी जलसेनाले इन्धन तस्करी गरिरहेका धेरै जहाजहरू पनि नियन्त्रणमा लिएको थियो।

जेठ १९, २०८२ सोमबार २०:५०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।