कृषि बीमालाई कृषकसँग जोड्न सिडले ल्यायो प्लान्टस्याट

कृषि बीमालाई कृषकसँग जोड्न सिडले ल्यायो प्लान्टस्याट

काठमाडौं : कृषकलाई बीमा कम्पनीसँग जोड्न सिड इनोभेसन्स प्रालिले ‘प्लाण्टस्याट’ सुरु गरेको छ। डिजिटल प्रणालीको प्रयोग गर्दै कृषकलाई जलवायु परिवर्तनको मारबाट जोगाउन ‘प्लाण्टस्याट’ सुरु गरेको हो।

कम्पनीले १४ वटाभन्दा धेरै जिल्लामा आफ्नो सेवा सञ्चालन गरेको कम्पनीका सञ्चालक सुमन घिमिरेले जानकारी गराए। नेपाली कृषकहरूलाई बीमासँग जोड्नु कम्पनीको मुख्य लक्ष्य रहेको घिमिरेले जानकारी दिए।

जलवायुमा फेरबदल भइरहँदा त्यसको असर कृषिमा पर्ने र नोक्सानीबाट उकासिन गाह्रो परेर कृषकहरू पेसाबाटै पलायन हुनुपर्ने अवस्थामा सहयोग गर्न प्रविधिसँग जोड्ने प्रयास गरेको कम्पनीको रणनीतिक योजनामा संलग्न गौरवजङ्ग पाण्डेले बताए।

‘हामी बीमा कम्पनीहरूलाई नयाँ प्रविधि र उत्पादनहरू दिएर किसानहरूसम्म पुग्न मद्दत गर्छौँ। जसकारण किसानहरूले आफ्नो अन्नबाली तथा पशु–चौपायामा क्षति पुग्दा केही न केही क्षतिपूर्ति पाउँछन् र भविष्यमा कृषि कर्मलाई नै निरन्तरता दिन सक्छन्।’

स्याटलाइटमा आधारित सूचकाङ्क बीमा नेपालको बीमा प्रणाली साना किसानहरूका लागि प्रभावकारी हुन सकेको छैन। ५०% भन्दा बढी साना किसानहरू दुर्गम क्षेत्रमा छरिएर रहेकाले बीमा कम्पनीहरूलाई उनीहरूसम्म पुगेर बीमाङ्कन प्रक्रिया, स्थलगत निरीक्षण र दाबी प्रमाणीकरण गर्न अत्यधिक खर्चिलो पर्ने गरेको छ।

अर्कोतर्फ कतिपय बीमा कम्पनीहरूले जटिल सम्झौताका प्रावधान: राख्ने र त्यसलाई बहाना बनाएर दाबी अस्वीकृत गर्ने प्रवृत्ति भएकाले कृषकहरूलाई बीमाप्रति अविश्वास रहेको र यस्ता अविश्वास तोडेर एउटा पारदर्शी प्रक्रिया निर्माण गर्ने समाधानस्वरुप प्लाण्टस्याटले स्याटलाइट प्रविधिमा आधारित सूचकाङ्क बीमाको विकास गरिरहेको पाण्डेले बताए।

‘यो एक पूर्ण प्याकेज हो, जसमा बीमा कम्पनीहरूलाई जोखिम मूल्याङ्कन तथा प्रिमियम निर्धारण, क्षतिको सूचक, मोबाइल एप, वेब–पोर्टल, स्वचालित सूचना प्रणाली र अभिकर्ता तालिम जस्ता सुविधाहरू समावेश हुन्छन्,’ उनले भने ‘उदाहरणका लागि, मकै बाली फूल फुल्ने चरणमा तापक्रमप्रति अत्यन्त संवेदनशील हुन्छ। लगातार ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेमा परागणहरूमा स्थायी क्षति पुग्न सक्छ।’

पाण्डेका अनुसार स्याटलाइटमा आधारित सूचकाङ्कमार्फत प्लाण्टस्याटले ऐतिहासिक तापक्रम तथ्याङ्कको विश्लेषण गरी ट्रिगर पोइन्ट (क्षतिको सूचक) निर्धारण गर्छ। निर्धारित ट्रिगर नाघेमा स्वचालित रूपमा क्षतिपूर्ति दाबी गर्न सकिन्छ।

पाण्डेका अनुसार यो प्रविधिले बीमा प्रक्रियालाई पारदर्शी र छिटो बनाउनका साथै मकै बारीमा लगातार केही दिनसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहेमा किसानहरूले कुनै कागजी प्रक्रियाबिना स्वतः क्षतिपूर्ति दाबी गर्न पाउँछन्।

आध्यान्त फन्ड म्यानेजमेन्टले सञ्चालन गरेको (डायल) एक्सिलेरेटर कार्यक्रममा प्लानसेटले यो नयाँ मोडल विकास गरेको छ। मकै, धान र डेरी उत्पादनका लागि यस्ता मोडेल उपयोगी हुने कम्पनीका सह- संस्थापक पाण्डेले बताए।

त्यसैगरी, प्लान्टसेटले पशुधन बिमालाई पारदर्शी बनाउन ‘मजल एआई’ विकास ल्याएको छ। कानमा लगाइने ट्यागमा छेडछाड गरी नक्कली दाबी गर्ने समस्या देखिएकाले वास्तविक पीडित तथा बीमा कम्पनी दुवै मारमा परेको र यसको समाधानका लागि प्लाण्टस्याटले ‘मजल एआई’ प्रविधि विकास गरेको पाण्डेले बताए।

अन्तर्राष्ट्रिय सहयोग र किसानसम्म पहुँच प्लाण्टस्याटले जीआईजेड, युएसएआईडी र कोइका जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको अनुदानमा विभिन्न बीमा डिजिटाइजेसन परियोजना, अभिकर्ता तालिम र जनचेतना कार्यक्रमहरू सम्पन्न गरेको छ।

कम्पनीको पहलमा नेपालका १४ जिल्लाहरूमा ६ हजार ७ सयभन्दा बढी किसानहरू डिजिटल माध्यमबाट बीमामा आबद्ध भइसकेको पाण्डेले बताए।

जेठ १९, २०८२ सोमबार २०:४०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।