स्कटल्यान्डले नेपाललाई दियो २ सय ९७ रनको लक्ष्य

काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि २९७ रनको लक्ष्य दिएको छ।
स्कटल्याण्डका डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रनको योगफल बनायो।
स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे। उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ८० रन बनाएका हुन्।
त्यसैगरी फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५५ रन जोडे। कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए।
यसैगरी म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रनमा आउट भए। माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए। ब्रेण्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे। त्यस्तै ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए।
नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई-दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।
जेठ १९, २०८२ सोमबार २०:०४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।