शीर्ष नेताहरूको छलफलमा पनि माओवादीले छाडेन गृहमन्त्रीको राजीनामाको अडान

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा देखिएको गतिरोधका बीच माओवादी केन्द्रले आफ्ना माग यथावत राखेको बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्रीसहित तीन प्रमुख दलका शीर्ष नेताहरुको छलफलमा भाग लिएपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले माओवादीले आफ्नो अडानबाट पछि नहटेको बताए।
‘सत्ता पक्षको तर्फबाट संसद खोल्नुपर्ने भनिएको छ। प्रधानमन्त्री र गृहमन्त्रीज्यूहरुले पनि राजीनामा होइन, संसद खोलेर अघि बढ्नुपर्छ भन्ने धारणा राख्नुभयो। तर हामीले अघि सारेको मुद्दा जस्ताको तस्तै छ,’ उनले भने।
उनले माओवादी केन्द्रको जोड सुशासनमा केन्द्रित रहेको स्पष्ट पार्दै भने, ‘हामीले राखेको विषय यथावत छ। त्यसैले अब सुशासन केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्ने कुरा पुनः दोहोर्याएका छौं।’
छलफलबाट तत्काल कुनै ठोस निष्कर्ष ननिस्किएको बताउँदै उनले अन्य प्रतिपक्षी दलहरूसँग पनि संवाद आवश्यक रहेको उल्लेख गरे। ‘संसदको गतिरोध कसरी हल गर्ने भन्नेबारेमा कुरा भयो। प्रतिगामी तत्वहरूको गतिविधिबारे पनि छलफल भयो। तर ठोस निर्णय भएको छैन,” उनले भने, ‘अन्य प्रतिपक्षहरूसँग पनि छलफल बाँकी भएकाले अहिले मात्र कुराकानी भयो।’
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री रमेश लेखक सहभागी थिए। संसद गतिरोध अन्त्यको उपाय खोज्न प्रधानमन्त्रीको पहलमा यो छलफल गरिएको हो।
जेठ १९, २०८२ सोमबार १९:०३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।