सन् २०२५ को पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल आए

काठमाडौँ : सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
जनवरीदेखि मे महिनासम्म कूल पाँच लाख एक हजार २६४ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। मेमा मात्रै ८६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका छन्। यस्तै, जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ८०० र अप्रिल महिनामा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका बोर्डले जनाएको छ।
मे महिनामा सबैभन्दा बढी भारतबाट २८ हजार एक सय ६०, अमेरिकाबाट नौ हजार ७४, चीनबाट आठ हजार ८२४, बङ्गलादेशबाट चार हजार २८०, संयुक्त अधिराज्य बेलायतबाट तीन हजार ४७३ पर्यटक नेपाल भित्रिएका छन्।
बोर्डका अनुसार मेमा दक्षिण एसियाली मुलुकबाट ३४ हजार ३५०, एसिया र अन्य मुलुकबाट १८ हजार ६९ पर्यटक नेपाल आएका छन्। युरोपबाट १३ हजार ३३० र मध्यपूर्वी मुलुकबाट एक हजार ५१५ पर्यटक भित्रिएका छन्। अघिल्लो वर्ष सन् २०२४ को सोही महिनाको तुलनामा ९५ दशमलव छ प्रतिशतबढी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१९ को तुलनामा १११ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ।
जेठ १९, २०८२ सोमबार १८:४८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।