हुम्लावासीलाई सतर्क रहन प्रशासनको आग्रह

हुम्लावासीलाई सतर्क रहन प्रशासनको आग्रह
ai image

हुम्ला : जिल्ला प्रशासन कार्यालय हुम्लाले एक सूचना जारी गर्दै मनसुन सुरु भएसँगै जिल्लावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ। 

मनसुन सक्रिय भएसँगै वर्षाका कारण जिल्लाभर बाढी, पहिरो र डुबानलगायत विपद् जोखिमका घटना घट्न सक्ने जनाउँदै जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागद्वारा प्राप्त जानकारीअनुसार हुम्लासहित कर्णाली र सुदूरपश्चिम प्रदेशभर भारी वर्षाको सम्भावना छ। त्यसैले बाढी पहिरोको उच्च जोखिम रहेकाले सुरक्षित रहन र विशेष सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो। 
   
सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत सामग्री वितरण प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकाय तयारी अवस्थामा रहेको जिप्रका हुम्लाले जनाएको छ। 

स्थानीय तहहरूलाई विपद्को समयमा आफूसँग भएको स्रोतसाधन तयारी अवस्थामा राखी आवश्यकताअनुसार आम नागरिकलाई सतर्कता अपनाउन पहल गर्न समेत प्रशासनले आग्रह गरेको छ। 
   
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनका कारण यस वर्ष चार लाख ५० हजार बढी घरपरिवार, करिब २० लाख व्यक्ति प्रभावित हुने अनुमान गरिएको छ। हुम्लामा मनसुन सुरु नहुँदै ठूलो क्षति भएका कारण उच्च सतर्क अपनाउन आग्रह गरिएको हो। 

जेठ १९, २०८२ सोमबार १८:३७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।