बजेट निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा निजी क्षेत्रका अधिकांश सुझावहरू समावेश गरिएको बताएका छन्।
इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आयोजित ‘बजेट: एक समग्र विमर्श’ कार्यक्रममा बोल्दै ढकालले भने, ‘हामी निजी फाइदाका लागि मात्रै नभई समग्र अर्थतन्त्रको सुधारका लागि पनि प्रस्ताव पेश गर्दै आएका छौं। सरकारले यसपटक कानुन र बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित गर्ने खालका व्यवस्था गरेको छ।’
ढकालले नेपालको खनिज पदार्थ निर्यात गर्ने प्रस्ताव बजेटमा राखिएर ठूलो नयाँ सोच प्रस्तुत गरिएको बताए। ‘हामी लामो समयदेखि खनिजजन्य वस्तु निर्यात गर्नैपर्छ भन्नेमात्र होइन, आवश्यक प्रक्रिया पूरा गरेर छिटो निर्यात थाल्न सरकारलाई आग्रह गर्दै आएका थियौं। बजेटमा उक्त व्यवस्था समावेश भएकोले अब ढिलाइ हुँदैन,’ उनले थपे।
त्यस्तै, सेज (विशेष आर्थिक क्षेत्र) मा जग्गा भाडाका हिसाबले सहजता, अन्तर्राष्ट्रिय सम्मेलन हल निर्माण जस्ता निजी क्षेत्रका मागहरू पनि बजेटमार्फत सम्बोधन भएको ढकालले बताए।
तर, केही विषयबस्तु बजेटमा नसमावेश भएकोले त्यसले असहजता निम्त्याउने पनि ढकालको भनाइ थियो। खासगरी जलविद्युत योजनाहरूका पीपीए (पावर पर्चेस एग्रीमेन्ट) र ‘टेक एण्ड पे’ मोडलले निजी लगानीकर्ता र बैंकहरूको सहज वित्त व्यवस्थापनमा समस्या ल्याउने सम्भावना रहेको उनले औंल्याए।
पर्यटन क्षेत्रका लागि सीमा नाकाका होटलहरूमा विदेशी मुद्राको थ्रेसहोल्ड हटाइएकोले केही सहजता पक्कै हुने ढकालले बताए।
जेठ १९, २०८२ सोमबार १८:२२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।