रौतहट विस्फोटमा आफताब आलमको साक्षी ‘आतंककारी’ समसुल

काठमाडौँ : संविधान सभाको निर्वाचन प्रभावित पार्न गोठमा घरेलु बम बनाउँदा पड्किएर घाइते भएकालाई ज्युँदै इट्टाभट्टामा हालेर मारेको अभियोगमा हालै जनकपुर उच्च अदालतको वीरगन्जस्थित अस्थायी इजलासले मोहम्मद आफताब आलमसहित चार जनालाई सफाइ दियो।
संविधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ मा आलमको घर नजिकै काका शेख इद्रिसको गोठमा भएको विस्फोटका घाइतेमध्ये पिन्टु भनिने त्रिलोकप्रकाश सिंह र ओसी अख्तरको हत्यामा जिल्ला अदालत रौतहटले जन्मकैद सुनाएको थियो।
अदालतमा वादी अनि प्रतिवादी दुवैको पक्षका साक्षीहरू समेत राखिएको थियो। मोहम्मद आफताब आलमले आफू निर्दोष रहेको जिकिर गर्न साक्षी राखेका व्यक्ति यस्तै प्रकृतिको अपराधमा संलग्न रहेका र आतंककारी गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका समसुल होदा थिए।
होदा आफैँ खुङ्खार आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन्। उनले आलमको साक्षीको रूपमा जिल्ला अदालत रौतहटमा बम विस्फोट भएको भनिएको दिन आफू राजपुर गाउँमै रहेको र त्यो दिन त्यहाँ कुनै घटना नघटेको दाबी गरेका थिए।
उनले त्रिलोकका बुबासहितका जाहेरीकर्ताहरूले आलममाथि राजनीतिक षडयन्त्र गरेको र मिया समेतको घटना विवरण कागज झुटो रहेको दाबी गरेका थिए।उनले अदालतमा आलमले अभियोग दाबीबाट सफाइ पाउनु पर्ने दाबी गर्दै साक्षीको बकपत्र गरेका थिए।
को हुन् समसुल होदा ?
२०७३ पुस १३ मा बारा, जङ्गलमा दुई युवकको शव फेला परेको थियो। अनुसन्धानमा उनीहरू भारतीय नागरिक दीपक राम र अरुण राम रहेको खुल्यो। उनीहरूको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले पुस १४ मा उमेशकुमार कुमार कुर्मी,कलैया बरेवाका मोजाहिर अन्सारीलाई पक्राउ गरेको थियो।
यो घटनामा सिमराका बृजकिशोर गिरीको संलग्नता खुलेपछि प्रहरीको विशेष ब्युरोसहितको टोलीले ६ राउन्ड गोली चलाएर उनलाई घुँडामा गोली हानेर पक्राउ गरेको थियो।
सो हत्याको सम्बन्ध भारतको रेल्वे ट्र्याकमा विस्फोट गराउने आपराधिक योजनासँग जोडियो। भारतमा बिहार प्रहरीले मोती पासवान, उमाशङ्कर पटेल र मुकेश यादवलाई भारतमा पक्राउ गरेपछि भारतको सिम्रौनगढ घोडासन रेल लाइनमा विस्फोट गराउन प्रेसरकुकर बम राखिएको तर राम्रोसँग तार नजोडिँदा नपड्किएको खुल्यो।
अनुसन्धानमा होदाले विस्फोटको योजना बनाए पनि सफल नभएपछि पोल खुल्ने डरले योजनामा संलग्न भारतीय नागरिकहरूलाई नेपालमा बोलाएर हत्या गरेको खुलेको थियो। विस्फोट गराउने योजना होदाले बनाएको र उनले गिरीलाई जिम्मा दिएको खुल्यो।
यता गिरीसहितको टोली पक्राउ पर्दा होदा भागेर दुबई पुगेका थिए। नेपाल प्रहरीले इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराएर उनलाई पक्राउ गरेर नेपाल ल्याएको थियो। होदासहित पक्राउ परेकाहरू हत्या अभियोगमा जेल परे।
बाराका होदा संविधान सभाको दोस्रो निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टीको तर्फबाट प्रत्यक्षतर्फको उम्मेदवारसमेत बनेका थिए। उनले १ हजार ४ सय ३२ मत पाएका थिए। म्यानपावर कम्पनी चलाएर बसेका उनी निर्वाचनमा पराजित भएपछि दुबई गएको खुलेको थियो।
जेठ १९, २०८२ सोमबार १७:४८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।