झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य

झापा : झापाका किसानले सरकारले तोकेको चैते धानको न्यूनतम् समर्थन मूल्य पाउन सकेका छैनन्।
सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ तोकेको थियो। तर, किसानहरू अहिले सो धान प्रतिक्विन्टल १ हजार ७ सय ५० रुपैयाँमै बेच्न बाध्य छन्।
‘खरिद मूल्य नपाउँदा किसानहरूले ७ सय रुपैयाँ प्रतिमनमै धान बेचिरहेका छन्,’ कृषि ज्ञान केन्द्र, झापाका प्रमुख सागर विष्टले बताए। ‘धान मिलहरूले मनपरी मूल्यमा धान किनिरहेका छन्, किसानहरू निराश छन्।’
धान सुकाएर भण्डारण गर्ने सुविधा नहुँदा किसान तुरुन्तै धान बेच्न बाध्य छन्। समर्थन मूल्य पाउने सम्भावना नदेखेपछि किसानले बजारमै धान फ्याँक्न थालेका छन्।
गत वर्ष प्रतिमन १०००-१२०० रुपैयाँमा बेचिएको चैते धान, यो वर्ष त्यसभन्दा पनि सस्तोमा गइरहेको छ।
एक बिघा खेतमा अधिकतम ९० मन धान फल्दा पनि लगानी मात्रै उठ्ने अवस्था छ। ‘एक बिघामा ५०–५५ हजार रुपैयाँ खर्च हुन्छ, अहिलेको मूल्यमा ६३ हजार रुपैयाँ मात्र आउँछ,’ विष्टले भने, ‘नाफा नै नहुने भएपछि किसानले खेती गर्न मन लगाउँदैनन्।’
झापामा यो वर्ष २० हजार हेक्टरमा चैते धानखेती गरिएको छ, जसबाट करिब १ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान छ। उत्पादन गरिएको धानमध्ये ८० प्रतिशत 'हर्दिनाथ–१' जातको हो।
देशभर वार्षिक ७० लाख टन धानको माग रहे पनि नेपालमा करिब ५४ लाख टन मात्रै उत्पादन हुन्छ। बाँकी धान विदेशबाट आयात गर्नुपर्ने अवस्था छ।
जेठ १९, २०८२ सोमबार १७:२५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।