राजीनामा माग्न गृहमन्त्रीविरुद्ध न उजुरी छ, न प्रमाण : प्रधानमन्त्री ओली

राजीनामा माग्न गृहमन्त्रीविरुद्ध न उजुरी छ, न प्रमाण : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई लिएर संसद अवरुद्ध गर्नु प्रतिपक्षको गैरजिम्मेवार र लोकतन्त्रविपरीतको व्यवहार भएको टिप्पणी गरेका छन्।

सोमबार बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मंगलबारदेखि संसदको नियमित गतिविधि सुरु हुने बताएका छन्।

‘संसद चल्नैपर्छ भनेर म प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजेको थिएँ, तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन’, ओलीले भने, ‘वार्ता नगर्ने अनि सदन चल्न नदिने मुडमा हुनुहुन्छ होला तर यस्तो व्यवहार सधैं चल्दैन।’

प्रधानमन्त्री ओलीका अनुसार गृहमन्त्रीमाथि न त कुनै छानबिन चलिरहेको छ, न कुनै उजुरी परेको छ। ‘त्यसैले कुनै आधार नहुँदा-नहुँदै राजीनामा मागेर सदन रोकिनु उचित होइन’, उनले भने, ‘माननीयज्यूहरू तयार भएर बस्नुस्, भोलिदेखि सदन चल्छ।’

सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुँदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो।

खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्णरुपमा आफ्ना कुरा राख्न सांसदहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई संसदीय गतिविधिलाई महत्व दिन निर्देशन दिए। 

अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरुले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उनले राजतन्त्र आजको बहसको विषय नै नभएको बताए।

कतिपय पक्षमा सत्ता छोड्नुपरेकाले वैचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै उनले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्तिहरु देखिएको बताए।
 

जेठ १९, २०८२ सोमबार १६:४१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।