स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल

स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं : आइसिसी विश्वकप लिग टु अन्तर्गत चौथो चरणको त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

स्कटल्याण्डको डुन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जित्दै पहिला बलिङ रोजेका हुन्।

नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, गुलशन झा र रिजन ढकाल परेका छन्।

स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्स सम्मिलित यो त्रिकोणीय सिरिज नेपालको आगामी विश्वकप छनोट यात्राका लागि निर्णायक मानिएको छ।

नेपाल हाल ८ टोली सम्मिलित लिग २ को अंकतालिकामा पुच्छारमा रहेको छ। १२ खेल खेलेर ६ अंक मात्र जोडेको नेपाललाई विश्वकप छनोट ग्लोबल क्वालिफायरमा स्थान बनाउनका लागि अबका खेलहरूमा लगातार जित निकाल्नुपर्ने दबाब छ।


ओडिआईमा स्कटल्याण्डसँग भएका कुल ८ भेटमध्ये नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ जित निकालेको छ।

पछिल्ला चार भेटमा त नेपाल अपराजित छ र ३ खेलमा जित हात पारेको छ। विशेषगरी, सन् २०२३ मा कीर्तिपुरमा भएको शृंखलामा नेपालले स्कटल्याण्डलाई दुवै खेलमा हराएको थियो।

जेठ १९, २०८२ सोमबार १६:००:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।