सार्वजनिक यातायात ठप्प भएपछि काठमाडौंमा ‘राइडर’को राज (तस्बिरहरू)

सार्वजनिक यातायात ठप्प भएपछि काठमाडौंमा ‘राइडर’को राज  (तस्बिरहरू)

काठमाडौं : सडकमा सार्वजनिक यातायात छैनन्। तर ‘बस स्पट’हरूमा मोटरसाइकलको भिड छ। दुई पाङ्ग्रेका ‘राइडर’हरू फोन हातमा लिएर यात्रु खोज्दै कुदिरहेका छन्। केही अफलाइन ‘राइडर’हरू यात्रुसँग भाडाको मोलमोलाइमा व्यस्त। नयाँ बानेश्वरदेखि चाबहिल, कोटेश्वर, पुलचोक, गंगबु, कलंकी चोक मात्र होइन सडकका कुनाकाप्चा जहाँ हेर्यो, त्यहीँ ‘राइडर’ देखिन्छन्। 

यातायात नचलेको मौका छोपेर केही ‘राइडर’हरूले अफलाइन राइड गरेर मनपर्दी भाडा असुलीरहेको यात्रुहरूको गुनासो छ। ‘यसअघि १३० रुपैयाँ लाग्ने दूरीमा आज २४० तिरेर बानेश्वर आइपुगे,’ सामाखुसीबाट बानेश्वर आइपुगेका प्रकाश लामिछानेले गुनासो गरे।

 ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आव्हानमा आज बिहानैदेखि देशभरका सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्किएका छन्। यातायात व्यवसायीहरूले ‘राइड सेयरिङ’ सेवाको विरोधमा अनिश्चितकालीन बन्द घोषणा गरेसँगै देशभरको यातायात ठप्प छ।

समितिले गण्डकी प्रदेश सरकारले निजी प्रयोजनका सवारी साधनलाई भाडामा चलाउन अनुमति दिने गरी ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीप्रति आपत्ति जनाउँदै बन्दको आह्वान गरेको हो।

यस्तो प्रावधानले परम्परागत सार्वजनिक यातायात प्रणालीलाई सक्ने र व्यवसायमा आबद्ध व्यवसायी तथा मजदुरलाई विस्थापित गर्ने भन्दै यातायात व्यवसायीहरू उक्त नियमावली खारेजीको माग गरेका छन्।

देशव्यापी सार्वजनिक यातायात बन्दको प्रत्यक्ष मारमा आम नागरिक परेका छन्। विशेषगरी दैनिक बस, माइक्रो वा ट्याक्सीमा निर्भर रहेर कार्यालय, विद्यालय, कलेज, अस्पताल वा अन्य कामकाजमा निस्कने हजारौं यात्रुले यसबाट सास्ती बेहोर्नुपरेको छ।

गन्तव्यमा पुग्ने अन्य उपाय नहुँदा धेरै मानिस लामो दुरी पैदल हिँड्न बाध्य भएका छन्। 


 

जेठ १९, २०८२ सोमबार १५:४८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।