एकजनालाई धेरै होइन, धेरैजनालाई थोरै ऋण दिनुपर्छ : गर्भनर पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा राष्ट्र बैंकले गृहकार्य गरिरहेको बताएका छन्।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ संशोधन गर्न बनेको विधेयकबारे सोमबार अर्थ मन्त्रालय, कानुन मन्त्रालय र राष्ट्र बैंकबीच अर्थ समितिमा छलफल हुँदा उनले अहिले देशमा ठूलो मात्रामा विदेशी मुद्रा सञ्चित भएको र त्यसले तरलता बढाएर अर्थतन्त्रमा असर पारेको बताए।
उनका अनुसार हाल नेपालमा करिब १७/१८ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चित छ। ‘एकै व्यक्ति वा संस्थाले ठूलो मात्रामा ऋण पाउनु भन्दा सोही रकम धेरै जनाले पाए अर्थतन्त्र अझ गतिशील हुन्छ। त्यसैले सबैभन्दा तल्लो वर्गलाई पनि ऋण उपलब्ध होस् भन्ने हाम्रो उद्देश्य हो।’ त्यस्ता वर्गको वास्तविक अवस्था बुझ्न आफू चाँडै पश्चिम नेपाल भ्रमणमा जान लागेको पनि उनले जानकारी दिए।
अहिले धेरै व्यवसाय राम्रोसँग चल्न नसकेको उदाहरण दिँदै गर्भनरले पौडेलले त्यसकै कारण खराब ऋण (नन परफर्मिङ लोन) बढिरहेको बताए। उनले खराब ऋण बढ्नुको मुख्य कारण नेपालमा उद्यमशीलता बलियोसँग स्थापित नहुनु रहेको बताए।
‘जब व्यवसाय असफल हुन्छ, ऋण तिर्न सकिन्न, त्यसले खराब ऋण बढाउँछ र अन्ततः अर्थतन्त्रमा असर गर्छ,’ उनले भने, ‘त्यसैले खराब ऋण कम गर्ने र समग्र अर्थतन्त्रलाई सक्रिय बनाउने दिशामा राष्ट्र बैंकले आवश्यक तयारी गरिरहेको छ।’
जेठ १९, २०८२ सोमबार १४:५८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।