नौं दिनको चीन भ्रमण सकेर स्वदेश फर्किइन् पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सकेर आज बिहान साढे १० बजे स्वदेश फर्किएकी छन्। चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा उनी यही जेठ १० गते चीन गएकी थिइन्।
भ्रमणमा उनीसँगै सहभागी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै भ्रमण ‘फलदायी’ र ‘उपलब्धिमूलक’ भएको बताए।
‘यो भ्रमणले नेपाल-चीनबीचको सम्बन्ध अझ मजबुत बनाएको छ,’ मन्त्री भण्डारीले भने, ‘ऐतिहासिक सम्बन्ध, साझा मान्यता र पूर्वसहमतिहरू कार्यान्वयन गर्ने दिशामा यसले थप टेवा दिएको छ।’
उनका अनुसार भ्रमणको क्रममा चिनियाँ उच्च अधिकारीहरूले नेपालमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले ल्याएको राजनीतिक स्थायित्वप्रति सन्तुष्टि व्यक्त गरेका थिए।
पूर्वराष्ट्रपति भण्डारीको सम्मानमा चीनले उच्च तहको सत्कार गरेको मन्त्री भण्डारीले बताए। भ्रमणका क्रममा भण्डारीले चीनका उपराष्ट्रपति, चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखलगायत नेतासँग भेटघाट गरेकी थिइन्।
उक्त भ्रमण टोलीमा मन्त्री भण्डारीसहित एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, स्थायी समिति सदस्य कर्णबहादुर थापा पनि सहभागी थिए। टोलीले बेइजिङ र गान्सु प्रान्तमा विभिन्न बैठक र छलफलहरूमा भाग लिएको थियो।
जेठ १९, २०८२ सोमबार १४:२२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।