विवादबाट जोगिन फिल्म ‘जनै हराएको बाहुन’को नाम परिवर्तन

विवादबाट जोगिन फिल्म ‘जनै हराएको बाहुन’को नाम परिवर्तन

काठमाडौं : नेपाली फिल्म उद्योगमा प्रदर्शनको पूर्वसन्ध्यामा नाम विवादमा आउने वा नाम परिवर्तन गरिने घटना नौलो होइन। गत वर्ष ‘एक भगवत् गीता’ नामको फिल्मले हिन्दुवादी संगठनको विरोध खेपेको थियो, जसले गर्दा चलचित्र विकास बोर्डमा समेत विवाद उत्पन्न भएको थियो।

यस्तै, सम्भावित विवादबाट जोगिन आगामी भदौ ६ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन गरेको छ। प्रचारप्रसारमा जाने समय नजिकिँदै गर्दा निर्माण पक्षले फिल्मको नाममा रहेको ‘बाहुन’ शब्दलाई हटाएर ‘मान्छे’ राखेको हो।

सोमबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि नाम फेरिएको उल्लेख गरेको छ। सार्वजनिक पोस्टरमा मुख्य पात्र विजय बराललाई रातो सर्टमा दुई झोला बोकी घरबाट निस्कँदै गरेको देखाइएको छ।

‘एपिक नेचुरल स्टार’को ट्याग दिइएको यो फिल्मको अहिले पोस्ट-प्रोडक्सनको काम भइरहेको छ। हिमाल न्यौपानेको निर्देशनमा बनेको यस फिल्ममा विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारको अभिनय रहेको छ।

‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत यस फिल्मका असोसियट निर्देशक हुन्। पेपरक्लिप ब्यानरमा निर्मित फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन्।

फिल्ममा कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने मुख्य सहायक निर्देशकमा निरज बहादुर राउत छन्। थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत, नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ। गोविन्द शाहीको काफिया फिल्म्सले फिल्म वितरणको जिम्मा लिएको छ।

जेठ १९, २०८२ सोमबार १४:००:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।