यातायात बन्द प्रभाव : राइड सेयरिङले बढी भाडा लिए वा अफलाइन बार्गेनिङ गरे १०३ मा खबर गर्न प्रहरीको आग्रह

काठमाडौं : यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि सार्वजनिक सवारी साधन नचल्दा राइड सेयरिङ सेवाका प्रयोगकर्ता बढी भाडा र अफलाइन बार्गेनिङको मारमा परेका छन्।
यस सम्बन्धमा गुनासो बढ्न थालेपछि नेपाल प्रहरीले यात्रुलाई ठगीमा परेमा उजुरी गर्न आग्रह गरेको छ।
बन्दका कारण यात्रुको चाप बढेको मौका छोपी पठाओ, इन्ड्राभ, टुटल लगायतका राइड सेयरिङ चालकले मोबाइल एपमा देखिनेभन्दा बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासो प्रहरीमा आएको छ।
प्रहरीले राइडरहरूलाई यस्ता कार्य नगर्न सचेत गराउँदै ठगीमा परेका यात्रुलाई नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा प्रहरीको हटलाइन नम्बर १०३ मा कल गरी जानकारी दिन अनुरोध गरेको छ।
जेठ १९, २०८२ सोमबार ११:१०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।