अर्थमन्त्रीको ‘ड्रिम प्रोजेक्ट’का लागि पाँच अर्ब माग्दा १८ करोड मात्र विनियोजन

बुटवल : बुटवल मेडिकल कलेज निर्माणको काम अब अघि बढ्ने भएको छ। जग्गा प्राप्तिमा ढिलाइ, बजेट अनिश्चितता लगायतका कारणले लामो समयदेखि रोकिएको मेडिकल कलेज निर्माणको काम अब भने सुरू हुने भएको हो।
सातै प्रदेशमा एक-एक वटा मेडिकल कलेज निर्माण गर्ने योजना अनुसार ६ वर्षअघि संघीय सरकारले रुपन्देहीको तिलोत्तमामा बुटवल मेडिकल कलेज बनाउने निर्णय गरेको थियो। सोही अनुसार ८ चैत २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमा नगरपालिका-१, नयाँमिलमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गरेका थिए।
बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयका निर्देशक दिनेशप्रसाद देवकोटाले साउन १ गतेदेखि काम सुरू हुने जानकारी दिए। सुरुमा वन क्षेत्रको दुई सय बिघा क्षेत्रफलमा बनाउने गरी वातावरणीय प्रभाव मूल्याङ्कन गरिए पनि वनबाट ५० बिघा मात्र जग्गा उपलब्ध भएको छ। अहिले अब सोही जग्गामा अस्पताल निर्माणको काम थालिने उनको भनाइ छ।
उपलब्ध ५० बिघा क्षेत्रफलको वातावरणीय व्यवस्थापन मूल्याङ्कन भइसकेको छ। यस क्षेत्रमा करिब ११ हजार २३० रुख काट्नुपर्ने देखिए पनि सुरुवातमा प्रशासनिक भवन निर्माणस्थलका ८ सय ४१ रुख कटान गरिनेछ। सबै रुख एकै पटक नकाटिने उनले बताए।
वन मन्त्रालयले ५० बिघा जग्गाको भोगाधिकार दिए पनि सामुदायिक वन उपभोक्ता समूहले निर्णय नगरिदिँदा काममा ढिलाइ भएको थियो। गत चैत २४ गते शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारण सभाले सामुदायिक वन क्षेत्रमा निर्माण हुने बुटवल मेडिकल कलेजका लागि ५० बिघा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेपछि कानूनी प्रक्रिया पूरा गरी काम अघि बढाउन लागिएको देवकोटाले जानकारी दिए।
उनले भने, ‘वन उपभोक्ता समूहले निर्णय गरेपछि हामीले १५ दिने सूचना निकालेर कानुनी प्रक्रिया पूरा गरेका छौँ। अब काम अगाडि बढ्ने निश्चित भइसकेको छ। सुरुवाती चरणमा रुख कटान र घेरबारको काम सुरू हुन्छ।’
५ अर्ब बजेट माग, १८ करोड विनियोजन
मेडिकल कलेजको पूर्वाधार निर्माणको काम सुरू गर्न आयोजना प्रमुख दिनेश देवकोटाले सुरुवाती चरणमै अर्थमन्त्री विष्णु पौडेलसँग ५ अर्ब रुपैयाँ माग गरेका थिए। विष्णु पौडेलको ‘ड्रिम प्रोजेक्ट’ भनिएको यो आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा न्यून रकम विनियोजन गरेको छ।
अर्थमन्त्री पौडेलले संसदमा प्रस्तुत गरेको बजेटमा बुटवल, सुर्खेत र डडेल्धुराका निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेजहरूको पूर्वाधार निर्माणका लागि कुल ५६ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ। तीन कलेजका लागि छुट्याइएको उक्त रकममध्ये बुटवलको भागमा १८ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ।
आयोजना प्रमुख देवकोटाले विनियोजित बजेटबाट सुरुवाती काम गर्न पुग्ने र बाँकी कामका लागि पछि थप बजेट माग गर्ने बताए। रुख कटान र घेरबारपछि प्रशासनिक भवनको काम अघि बढ्ने उनले जानकारी दिए।
१ हजार बेडको अस्पताल बन्ने लक्ष्य
सरकारले सातै प्रदेशमा एक-एक मेडिकल कलेज निर्माण गर्ने योजनाअनुसार तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय बुटवल मेडिकल कलेज बनाउने निर्णय गरेको थियो।
तिलोत्तमा नगरपालिका-१ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको झण्डै दुई सय बिघा जमिनमा १ हजार बेडको अस्पताल सहित कलेज भवन, क्वार्टर, होस्टेल, प्राइमरी स्कुल, कम्युनिटी हललगायतका संरचना बनाउने विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको थियो।
तर, हाल ५० बिघा मात्र वन क्षेत्र प्राप्त भएकाले सुरूवातमा प्रशासनिक भवन निर्माणलगायतका अत्यावश्यक संरचना बनाइनेछ। बाँकी संरचना क्रमश: निर्माण गरिनेछन्।
बढ्दै लागत अनुमान
शंकरनगर सामुदायिक वनको १ सय २५ बिघा र करिहिया सामुदायिक वनको ७५ बिघा गरी कुल २ सय बिघामा निर्माण हुने मेडिकल कलेजको कुल लागत अनुमान १९ अर्ब रुपैयाँ गरिएको छ। मुटु र क्यान्सरको छुट्टै अस्पताल बनाउने योजनाको अध्ययन भइसकेको छ, तर पहिला जनरल अस्पताल निर्माण गरिनेछ।
डीपीआर अध्ययन गर्न २ करोड ८८ लाख रुपैयाँ खर्च भएको थियो। कलेज निर्माण क्रममा टेन्डर आह्वान भएर निर्माण कम्पनीबीच प्रतिस्पर्धा हुँदा लागत घट्ने आयोजनाको अपेक्षा छ। पर्याप्त बजेट विनियोजन भए बुटवल मेडिकल कलेजको भौतिक संरचना ६ वर्षभित्र निर्माण गर्न सकिने आयोजना प्रमुख देवकोटाले जानकारी दिए।
मेडिकल हब बन्दै रुपन्देही
यो सरकारी मेडिकल कलेज बनेसँगै रुपन्देही मेडिकल हब बन्ने निश्चित छ। बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल प्रदेश गौरवको आयोजना अनुसार १२ सय शैयाको हुने क्रममा छ। यसको काम अहिले चलिरहेको छ।
निजी क्षेत्रका युनिभर्सल मेडिकल कलेज (भैरहवा) र देवदह मेडिकल कलेज सञ्चालनमा छन्। यहाँ प्रदेशका १२ जिल्ला, गण्डकी प्रदेशका स्याङ्जा, बागलुङ तथा सीमावर्ती भारतीय शहरबाट समेत बिरामी उपचारका लागि आउँछन्। पूर्ण सरकारी लगानीका कारण शुल्कमा समेत सर्वसाधारणको पहुँच पुग्ने विश्वास गरिएको छ।
बुटवलमै एक सय शय्याको बुटवल हस्पिटल प्रालि, मणिग्राममा क्रिमसन अस्पताल, भैरहवामा सिद्धार्थनगर सिटी हस्पिटललगायत एक दर्जन बढी निजी अस्पताल पनि सञ्चालनमा छन्। रुपन्देहीमा थप दुई वटा क्यान्सर अस्पताल निर्माणको प्रक्रियामा छन्।
यसरी एकपछि अर्को अस्पताल र मेडिकल कलेज निर्माणले निकट भविष्यमै रुपन्देही मेडिकल हब बन्ने बाटोमा अग्रसर देखिएको छ।
जेठ १९, २०८२ सोमबार १०:५३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।