यातायात बन्दको फाइदा राइड सेयरिङलाई, महँगो मूल्य तिर्न यात्रु बाध्य

काठमाडौं : यातायात व्यवसायीहरूले राइड सेयरिङ सेवाको विरोधमा आन्दोलन थालेसँगै देशभरका सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द भएका छन्।
तर, उनीहरूको आन्दोलनको प्रत्यक्ष लाभ भने राइड सेयरिङ कम्पनी र त्यसका चालकले नै उठाइरहेका छन्। अर्कोतर्फ सार्वजनिक यातायात नचल्दा यात्रुहरू चर्को भाडा तिर्न बाध्य भएका छन्।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबार बिहानैदेखि देशभरका सार्वजनिक यातायातका साधनहरू ग्यारेजमै थन्क्याइएका छन्। समितिको निर्णय अनुसार यातायात व्यवसायीहरूले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्।
यो आन्दोलनको मुख्य कारण गण्डकी प्रदेश सरकारले ल्याएको एक नियमावली हो। उक्त नियमावलीमा ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधनसरह प्रयोग गर्न दिने प्रावधान राखिएको छ। यातायात व्यवसायीहरूले यस प्रावधानको चर्को विरोध गर्दै आएका छन्।
यसले सार्वजनिक यातायात प्रणालीमाथि निस्तेज पार्ने र यातायात व्यवसायी तथा मजदुरलाई विस्थापित गर्ने तर्क गर्दै संघर्ष समितिले उक्त नियमावली खारेज गर्नुपर्ने मुख्य माग राखेको छ।
समितिले यस विषयमा पटक-पटक सम्बन्धित सरकारी निकायहरूलाई ध्यानाकर्षण पत्र बुझाएको र समस्या समाधानका लागि यथाशीघ्र पहल गर्न अनुरोध गरेको बताएको छ। तर, सुनुवाइ नभएपछि बाध्य भएर यातायात बन्दको कठोर कदम चाल्नुपरेको उनीहरूको भनाइ छ।
सार्वजनिक यातायात बन्द हुँदा देशभरका आम यात्रुले सास्ती बेहोर्नु परेको छ। विशेषगरी दैनिक आवतजावतका लागि सार्वजनिक बस, माइक्रो वा ट्याक्सीमा निर्भर रहने ठूलो संख्या प्रभावित भएको छ।
यसै क्रममा, यातायात बन्दको अप्रत्याशित फाइदा भने राइड सेयरिङ कम्पनी र सेवाग्राहीले नै उठाएका छन्। यात्रुको चाप र माग ह्वात्तै बढेसँगै पठाओ, इन्ड्राइभ, याङ्गो, सजिलो जस्ता राइड सेयरिङ एपहरूमा बिहानैदेखि ‘डाइनामिक प्राइसिङ’ लागू भई भाडादर अकासिएको छ। सामान्य अवस्थाको तुलनामा दोब्बर वा तेब्बरसम्म भाडादर देखाएपछि यात्रुहरू मारमा परेका छन्।
‘सार्वजनिक यातायात बन्द छ, कतै जानै पर्ने बाध्यता छ,’ शेषमतिबाट ठमेल आउन खोजेका एक यात्रुले आफ्नो गुनासो पोख्दै भने, ‘राइड सेयरिङ प्रयोग गरौँ भन्दा भाडा हेर्यो भने त आकाश छुने गरी बढेको छ। यो त सरासर अप्ठ्यारोको बेलाको फाइदा उठाउँदै गरिएको लुट हो।’
यता, यात्रुको चाप बढ्दा त्यसको प्रत्यक्ष लाभ भने राइड सेयरिङका चालकहरूले पनि उठाइरहेका छन्। माग बढेसँगै उनीहरूको आम्दानी पनि बढेको छ।
ठमेलमा भेटिएका भेटिएका एक राइडरले आफ्नो अनुभव सुनाउँदै भने, ‘अरू बेला बिहान १० बजेसम्म मुस्किलले एउटा वा दुइटा मात्र राइड हुन्थ्यो। तर आज त बिहान १० बजेसम्म नै पाँच वटा राइड गरिसकेँ।’
जेठ १९, २०८२ सोमबार १०:०७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।